काठमाडौं, असोज १४ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आज दिउँसो १ बजे बस्ने संघीय संसद बैठकमा सरकारी एजेन्डामा प्रवेश गर्न नदिने तयारी गरेको छ । इलेक्ट्रोनिक सिगरेट, ६० किलो बढी सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग बनाउने सहमति सरकारले उल्लंघन गरेको भन्दै एमालेले सरकारी एजेन्डा प्रवेश गर्न नदिने तयारी गरेको हो ।
एमाले सचेत महेश बर्तौलाका अनुसार सुन तस्करीबारे छानबिन तथा अनुसन्धानको लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमतिलाई संसदले अनुमोदन गरेपनि त्यसको कार्यान्वयन गर्नेबारे सरकार गम्भीर नदेखिएकाले आजको बैठकमा सरकारी एजेन्डामा प्रवेश गर्न नदिने तयारी गरिएको हो ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक पेश गर्ने कार्यसूची रहेको छ। त्यस्तै सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची पनि रहेको छ।