काठमाडौं, असोज १४ । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवका लागि प्रेरणाका स्रोतका रूपमा रहेका ज्येष्ठ नागरिकको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्नुपर्ने बताएका छन्।
तेत्तीसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई अन्तर पुस्तान्तरण गरी अत्यधिक उपयोग गर्नसके आर्थिक समृद्धि तथा सामाजिक सदासयता कायम गर्न ठूलो सहयोग मिल्ने विश्वास व्यक्त गरे।
देशका युवाशक्ति अध्ययन र रोजगारीका लागि विदेशिएका र घर-घरमा ज्येष्ठ नागरिकमात्र बाँकी रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकको अधिकारको संरक्षण, हित र कल्याणका लागि अब राज्यस्तरबाटै सोच्ने बेला भइसकेको बताए।
उनले ज्येष्ठ नागरिकको संरक्षकत्व प्राप्त गरी बाजेबज्यैदेखि नातिनातिनासम्म सगोल परिवारमा रहने पूर्वीय दर्शनमा आधारित आदर्श परिवारको महत्व बुझ्न र बुझाउन आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षा शुभकामना सन्देशमा व्यक्त गरेका छन्।
ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन सबैमा आह्वान गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ज्येष्ठ नागरिकको सुस्वास्थ्य, दीर्घायु एवं सम्मानित जीवनको कामना समेत गरेका छन्।