Logo

सन्दीप र करणलाई पछि पार्दै अभिनाश बने टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेट लिने पहिलो नेपाली बलर



काठमाडौं,१४ असोज । चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत टी-२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ।

२१३ रनको चुनौती पछ्याएको माल्दिभ्सलाई ७४ रनमा अलआउट गर्दै नेपालले सानदार जित दर्ता गरेको हो।

नेपालको जितमा अभिनाश बोहरा नायक बने । अभिनाशले माल्दिभ्सविरुद्ध ६ विकेट लिए। ३.४ ओभर बलिङ गरेका अभिनाशले ११ रन खर्चिएर ६ विकेट हात पारेका हुन्। आजको खेलमा ६ विकेट लिएका बोहराले राष्ट्रिय कीर्तिमासमेत कायम गरेका छन् ।

बोहरा टी -२० को अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको तर्फबाट ६ विकेट लिने पहिलो नेपाली बलर हुन् । यसअघि नेपालबाट टी -२० को एउटै खेलमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको सूचीमा सन्दीप लामिछाने र करण केसी रहेका थिए । लामिछाने र केसीले समान ५-५ विकेट लिएका थिए ।

अघिल्लो वर्ष भएको नेपाल, केन्या र पपुवा न्यूगिनी सम्मिलित त्रिकोणात्मक क्रिकेट श्रृङ्खलामा पपुवान्यूगिनीविरुद्धको खेलमा ५ विकेट लिँदै राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । उक्त खेलमा नेपाल ३७ रनले विजयी भएको थियो । त्यस्तै सन्दीपले पनि केन्याविरुद्धको खेलमा ५ विकेट लिँदै करणले बनाएको कीर्तिमानलाई बराबरी गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्