Logo

उपभोक्ताको हितलाई ध्यान राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिइएको छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं,१४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गरिएको बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले निकट आउँदै गरेको चाडबाड र उपभोक्ता हितलाई ध्यान दिँदै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गरिएको जानकारी गराएका हुन्।

नेपाल आयल निगमले शनिबार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो। चाडबाडको मुखमा मूल्यवृद्धि भएको भन्दै सरकारको विरोध भएको थियो।

आज बसेको मन्त्रिपरिषद बैठकमा पनि यसबारे छलफल भएको थियो। प्रधानमन्त्री दाहालले निगमलाई मूल्यवृद्धि फिर्ता लिन भनेपछि यथावत राखिएको छ।

नेपाल आयल निगमले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० प्रतिलिटर (करिब ८ रुपैयाँ) बढाएको थियो ।

यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि २१५ रुपैयाँ बढाउने निर्णय भएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्