Logo

राप्रपाले मागेको २ मिनेट समयलाई लिएर संसद्मा १० मिनेट हंगामा



काठमाडौं,१४ असोज । प्रतिनिधि सभा बैठक जारी छ । दिउँसो १ बजेबाट संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बसिरहेको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो संयुक्त राष्ट्र संघ र मित्रराष्ट्र चीन भ्रमणको बारेमा जानकारी गराउने र साउन ३ गते सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन बरामद प्रकरणको सत्यतथ्य छानबिन गर्न बनाईएको उच्चस्तरीय छानबिन आयोगको बारेमा संसद्लाई जानकारी गराउने तय भएको थियो । साथै आजकै बैठकमा शिक्षा विधेयक-२०८० संसद्मा पेश गर्ने कार्यसूची पनि संघीय संसद् सचिवालयले तय गरेको थियो ।

आजको प्रतिनिधि सभा बैठक सुरु हुनुभन्दा अघि बसेको सभामुख र दलका प्रमुख सचेतकहरुको छलफलमा आकस्मिक समय र शून्य समय नराख्ने र सीधै विषयमा प्रवेश गर्ने सहमति भएको थियो । उक्त सहमति अनुसार सभामुख देवराज घिमिरेले बैठक सुरु गरेका थिए ।

सभामुख घिमिरेले बैठक सुरु गर्नासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले उठेर विरोध जनाउन थाले । दलका सचेतकसँगको सहमति विपरित रास्वपाले अवरोध सुरु गरेपछि केहिक्षण अलमलमा परेका सभामुख घिमिरेले रास्वपाका सांसदहरुलाई आसनग्रहण गर्न आग्रह गरिरहे । सभामुखले पटक पटक आग्रह गर्दापनि रास्वपाका सांसदले आफ्नो अडान नछोडेपछि सभामुख घिमिरेले रास्वपाको तर्फबाट बोल्न सभापति रवि लामिछानेलाई दुई मिनेटको समय दिए ।

सभामुखले समय दिएपछि रास्वपाका सभापति लामिछानेले आफ्ना कुरा राखे । लामिछानेले बोलिसकेपछि सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डलाई बोल्न समय दिए । सभामुखले प्रधानमन्त्रीलाई बोल्न समय दिएपछि आफूहरुले पनि बोल्न पाउनुपर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले उठेर विरोध जनाए । राप्रपाका सांसदले पनि आफूलाई पनि रास्वपालाई जस्तै २ मिनेट समय दिन माग गरे ।

राप्रपाका सांसद र सभामुख घिमिरेबीच झण्डै १० मिनेट लामो चर्काचर्की भएको थियो । त्यसक्रममा राप्रपाका सांसदले निरन्तर बोल्न पाउनुपर्छ भन्दै चिच्याईरहे भने सभामुखले दलका सचेतकसँगको छलफलमा भइको सहमति सम्झाईरहे ।

पटक–पटकको आग्रहपछि पनि राप्रपा सांसदहरू नबसेपछि सभामुखले १ मिनेट बोल्नका लागि समय दिने भन्दै नाम मागे ।

दलका प्रमुख सचेतकसँगको सहमतिबेगर राप्रपालाई समय दिइएको भन्दै नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका सांसदहरूले नियमापत्ति गरे ।

त्यसपछि सभामुख देवराज घिमिरेले सांसदलाई आसनग्रहण गर्न विशेष निर्देशन दिए ।

‘असअघि आग्रह गरेको थिएँ, यसपटक आसनग्रहणका लागि विशेष निर्देशन जारी गरिसकेको छु,’ सभामुख देवराज घिमिरेले भने ।

त्यसपछि सांसदहरू बसे । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो विदेश भ्रमणबारे जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्