काठमाडौं, १५ असोज । बिहानैदेखि मदिरा सेवन गर्ने अनि बाटोघाटोमा आएर गालीगलौज गर्ने दृश्य सामान्य भइसकेको थियो, बाजुराको दुर्गम र भौगोलिक रुपमा विकट गौमुल गाउँपालिकामा । बुढीगंगा नदीको मुहानमा जोडिएको यो गाउँपालिकामा न्यून आयस्रोत भएका नागरिकको बसोबास छ । तर जीविकोपार्जनमा समस्या भएका नागरिक नै मदिराको कुलतमा फसेका र असामयिक मृत्युका घटना मात्र भएनन्, समाजमा झैझगडा र घरेलु हिंसाका कारण थुप्रै बालबालिका पढाइबाट वञ्चित समेत भए ।
अनियन्त्रित मदिरा सेवनबाट निम्तिएको मृत्यु, मुद्दा मामिला, झैझगडा आदि समस्याले विकास निर्माणका काम गर्न नपाएपछि गाउँपालिकामा दुई वर्षअघि कार्ड सिस्टम लागू भयो । सुरुआतमा कार्ड सिस्टम राम्ररी सञ्चालनमा आए पनि अहिले त्यसलाई अवज्ञा गर्ने काम भइरहेको जनगुनासो छ । त्यसलाई प्रभावकारी बनाउने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष हरि रोकायाले बताए ।
‘जहिले पनि पुलिसभन्दा चोर नै एक स्टेप अगाडि हुन्छ । हामीले घरेलु अमन चैन, शान्ति सुव्यवस्थाको उद्देश्य लिएर मदिरा व्यवस्थापनमा कार्ड सिस्टम लागू गरेका थियौं, पहिलो दुई वर्ष राम्रो ढंगले सञ्चालनमा आयो । तर हाल सेवनकर्ता र विक्रेताबाट कार्डमा जथाभावी या दुरुपयोग भएको पाइएको छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘पालिका बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
दोस्रो पटक गाउँपालिका प्रमुखमा निर्वाचित रोकायाले मदिरा व्यवस्थापन कार्डमा निगरानी र कडाइ गर्ने काम भइरहको बताए । उनले भने, ‘अब हामी पालिका प्रहरीको व्यवस्था गरेर यस काममा खटाउन लागिरहेका छौं । नियमविपरीत मदिरा सेवन र विक्रीवितरण गरेको पाइए कार्यविधि अनुसार दण्डित गर्छौं ।’
कार्यविधि अनुसार ठेक्का लगाएर मदिराको डिलर तोकिएको छ । वडाको सिफारिसमा अरु खुद्रा वितरकले डिलरबाट मदिरा लिन्छन् । मदिरा पिउन आउनेले ५ सय रुपियाँ तिरेर वितरकसँग फोटोसहितको कार्ड बनाउँछ । उसले दिनको १८० एमएल मात्र पिउन पाउँछ ।
हरेक व्यक्तिको रेकर्ड वितरकसँग हुन्छ । दुरुपयोग गर्ने वितरकले पहिलोपटक कम्तीमा १० हजार जरिवाना तिर्नुपर्छ । अनियन्त्रित रुपमा पिउनेले पहिलो पटकमा दुई हजार, दोस्रो पटकमा पाँच हजार रुपियाँ जरिवाना तिर्नुपर्छ ।