Logo

पूर्वराजालाई माधव नेपालले भने, ‘पार्टी खोलेर हामीसँग चुनाव लड्नुस् न त’



काठमाडौं, १५ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार निकम्मा नभएको दाबी गरेका छन् ।
‘मैले अहिलेको सरकारलाई निकम्मा भनेको छैन । सरकारले कुनै काम गरेन पनि भनेको छैन । हाम्रो पार्टीका मन्त्रीले राम्रो काम गरेका छैनन्, कसले भनेको छ ? सरकारले कतिपय राम्रो काम पनि गरेको छ । यो भन्दा राम्रो हुनुपर्छ, सिस्टममा सुधार गर्नुपर्छ भनेर हामीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका छौं । प्रधामन्त्रीले पनि यसलाई सकारात्मक रुपमा लिनुभएको छ । सबै बसेर छलफल गरौं भन्नुभएको छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता नेपालले सत्तारुढ पार्टी भए पनि सरकारलाई ज्ञापनपत्र बुझाउन मिल्ने जिकिर गरे । उनले भने, ‘हो, हामी सरकारमा छौं । हामीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौं । सरकारको ध्यानाकर्षण गराउन प्रतिपक्ष नै हुनु पर्दैन । एकीकृत समाजवादी जनताको प्रतिनिधि पार्टी होइन ? सत्तामा वा विपक्षमा हुँदा पनि नेकपा (एकीकृत समाजवादी) ले आवाज उठाउँछ । हाम्रै पार्टीको नेतृत्व सरकार भयो भने पनि आवाज उठाउँछ । हामीले समस्या थाहा पाउने, प्रधानमन्त्रीलाई थाहा नदिने ?’
अहिले गठबन्धन कमजोर बनाउन कुनै दल नलागेको नेता नेपालले बताए । उनले थपे, ‘अहिलेको संसद्को गणित अनुसार कि कांग्रेसको सहभागितामा सरकार बन्छ, कि एमालेको सहभागितामा सरकार बन्छ । एमालेसँग सँगै जान सकिँदैन भन्ने अनुभूति गरेपछि प्रचण्डले पुरानो गठबन्धन छाड्नुभयो र नयाँ बन्यो । नेपाली कांग्रेस पनि गठबन्धन कमजोर बनाउने पक्षमा छैन ।’ कांग्रेस सभापति शेरबहादुर देउवाले ५ वर्षसम्म गठबन्धन कायम रहने बताएको उनले सुनाए ।
पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री प्रचण्ड नै सरकारसँग सन्तुष्ट नभएको बताए । उनले मन्त्री, ब्युरोक्रेसी वा नीतिको कारण पनि प्रधानमन्त्रीले चाहेजस्तो काम गर्न नसकेको औंल्याए । उनले आफ्नो पार्टीको संगठन कमजोर नभएको दाबी पनि गरे । उनले भने, ‘हाम्रा कतिपय साथीहरु एमालेमा गए होलान् । तर त्यहाँ गएर के पाए ? हामीले त देखेका छैनौं । हामीले पनि एमालेका धेरै मानिसलाई भित्र्याएका छौं । सप्तरीमा १२३१ जना पार्टी प्रवेश गरे । प्युठानबाट २५० जना प्रवेश गरे । अनि एकीकृत समाजवादी चकनाचुर भयो कसले भन्यो ? संगठन नभएको भए प्रत्यक्ष चुनावमा जित्न सक्थ्यो ? संसद्मा १० सिट जित्ने पार्टी कति छन् ?’ जारी जागरण अभियानबाट पार्टीमा नयाँ उत्साह र ऊर्जा आउने उनले बताए ।
आफूहरुले वामपन्थी शक्तिलाई एकताबद्ध बनाउन समाजवादी मोर्चा नेपाल गठन गरेको र त्यसमा आउन चाहे एमालेलाई स्वागत गरिने बताए । उनले भने, ‘केपी ओलीले कसैलाई मन पराउनुहुन्न । हाम्रो त मुखै देख्न चाहनुहुन्न । उहाँलाई हामी मन नपरेपछि हामीले मान्नुपर्ने कारण छैन । एमालेमा दक्षिणपन्थी भड्काउ, व्यक्तिवादी गलत प्रवृत्ति छ । त्यसमा सुधार र रुपान्तरण नभएसम्म एकता सम्भव छैन । तर हामी मिलेर जाने कुरामा नकारात्मक धारणा पनि राख्दैनौं ।’
उनले नेपालमा राजतन्त्र आउने सम्भावना नभएको पनि बताए । उनले भने, ‘अब हामी वंश शासनमा किन जाने ? वंशको दासतालाई हामी स्वीकार गर्दैनौं । राजतन्त्र फर्केर आउन सक्दैन । पूर्वराजालाई देशप्रतिको चिन्ता छ भने पार्टी खोले हुँदैन, नेता बनेर आए हुँदैन ? सम्पत्ति कमाउनु छ भने व्यापार गरे हुँदैन ? मधेसीको छोराले राष्ट्रपति, उपराष्ट्रपति, महिला राष्ट्रपति बन्न नहुने ? अरुसँग बराबरी किन नहुने ? हामीसँग चुनाव लड्नुस् न त ।’
नेता नेपालले आफूलाई फेरि प्रधानमन्त्री हुन्छु वा हुन्न भन्ने चिन्ता नरहेको पनि बताए । उनले भने, अहिले प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ । पछि हुने कुरालाई अहिले किन टाउको दुखाउने ? यस्तो कुरामा अहिले नजाऔं । प्रधानमन्त्रीलाई राम्ररी काम गर्न दिऊँ । नीति वा कार्यशैलीमा कमजोरी भए सुधार गर्न प्रेरित गरौं । मैले प्रधामन्त्री पाउँछु कि पाउँदिनँ भन्ने चिन्तामुक्त हौं ।



प्रतिक्रिया दिनुहोस्

Screenshot