Logo

दल खोलेर चुनावी मैदानमा उत्रिन पूर्वराजा ज्ञानेन्द्रलाई माधव नेपालको चुनौती



काठमाडौं,१५ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा पुनः राजतन्त्र फर्किन सम्भव नरहेको दाबी गरेका छन् ।

आइतबार प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले राजतन्त्र फर्किन्छ भन्ने दिवा सपना नदेख्न राजतन्त्र पक्षधरलाई चेतावनीसमेत दिएका छन् । नेता नेपालले पूर्व राजा ज्ञानेन्द्रलाई दल खोलेर राजनीतिमा आउन र आफूहरुसँग चुनावी मैदानमा उत्रिनसमेत चुनौती दिएका छन् ।

उनले भने, ‘अब हामी वंश शासनमा किन जाने ? वंशको दासतालाई हामी स्वीकार गर्दैनौं । राजतन्त्र फर्केर आउन सक्दैन । पूर्वराजालाई देशप्रतिको चिन्ता छ भने पार्टी खोले हुँदैन, नेता बनेर आए हुँदैन ? सम्पत्ति कमाउनु छ भने व्यापार गरे हुँदैन ? मधेसीको छोराले राष्ट्रपति, उपराष्ट्रपति, महिला राष्ट्रपति बन्न नहुने ? अरुसँग बराबरी किन नहुने ? हामीसँग चुनाव लड्नुस् न त !।’

नेता नेपालले आफूलाई फेरि प्रधानमन्त्री हुन्छु वा हुन्न भन्ने चिन्ता नरहेको पनि बताए । उनले भने, अहिले प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ । पछि हुने कुरालाई अहिले किन टाउको दुखाउने ? यस्तो कुरामा अहिले नजाऔं । प्रधानमन्त्रीलाई राम्ररी काम गर्न दिऊँ । नीति वा कार्यशैलीमा कमजोरी भए सुधार गर्न प्रेरित गरौं । मैले प्रधामन्त्री पाउँछु कि पाउँदिनँ भन्ने चिन्तामुक्त हौं’ ।



प्रतिक्रिया दिनुहोस्