Logo

रास्वपा सांसदको प्रश्न- बहुविवाह र यौन दुराचार शिक्षकले मात्र गर्छन् ?



काठमाडौं, १६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद गणेश पराजुलीले आफ्नो पार्टी भ्रष्टाचारविरुद्धको अभियानमा निरन्तर लागिरहेको दाबी गरेका छन् ।
‘हामी भ्रष्टाचारविरुद्ध प्रभावकारी रुपमा लागेनौं भन्नु न्यायोचित हुँदैन । सदनबाट पनि सशक्त विरोधमा गरिरहेका छौं । हिजो मात्र हामीले जघन्य अपराधीलाई आममाफी दिएको सम्बन्धमा सम्माननीय राष्ट्रपतिलाई अनुरोध-पत्र दिएका छौं । यो पनि भ्रष्टाचारविरोधी अभियान नै हो । हामी कहीं कतै चुकेका छौं भने सबैको मार्गनिर्देशन आवश्यक छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
रास्वपा सरकारमा जाने तयारीमा हो भन्ने प्रश्नमा पराजुलीले भने, ‘रास्वपा सरकारमा जाँदै छ भन्ने चर्चा हामीले गरेको होइन, तपाईंहरुले गरेको हो । हामीले कहीं पनि यस्ता कुरा गरेका छैनौं । अहिले हामी प्रतिपक्षी दलकै भूमिकामा छौं ।’
सरकारले संसद्मा ल्याएको विद्यालय शिक्षा विधेयक शिक्षा सुधारका निम्ति नभई दुनियाँको आँखामा छारो हाल्ने प्रत्यायोजन विधेयक भएको आरोप पनि पराजुलीले लगाए । उनले थपे, ‘यो विधेयकले राष्ट्रलाई चाहिने जनशक्ति निर्माण गर्न सक्दैन । यसले विद्यालय शिक्षामा समग्र सुधार गर्न पनि सक्दैन । यो विधेयक ल्याएर सरकारले मन्त्रालय, आईएनजीओ, एनजीओ आदि स्वार्थ समूहलाई ऐन बनाउने अधिकार अदिने तयारी गरेको छ ।’
सरोकारवालासँग बहुपक्षीय छलफल नगरीकन विधेयक ल्याएकाले आफ्नो पार्टी यसको पक्षमा नरहेको सांसद पराजुलीले स्पष्ट पारे । उनले भने, ‘फौजदारी संहिताले निर्दिष्ट गरिसकेका कुरा समेत यसमा राखिएको छ । के अपराध, बहुविवाह, यौन दुराचार शिक्षकले मात्र गर्छन् ? यस्तो विधेयकले देशलाई अझै दुर्दशातिर लैजान्छ ।’




प्रतिक्रिया दिनुहोस्

Screenshot