Logo

सरकारको अपजस जति कांग्रेसले लिनुपर्ने अनि जस जति प्रधानमन्त्रीलाई मात्र जाने कुरा हुन सक्दैन : कांग्रेस नेता



काठमाडौं, १६ असोज । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख एवं पूर्व मन्त्री मीनबहादुर विश्वकर्माले मीनबहादुर विश्वकर्माले पार्टीका मन्त्रीहरु फिर्ता गर्नुपर्ने महामन्त्री गगनकुमार थापाको धारणा व्यक्तिगत भएको बताएका छन् । सरकार वा गठबन्धन बदल्ने पक्षमा कांग्रेस नरहेको पनि उनले बताए ।
‘गठबन्धनको सरकारमा नेतृत्व नगरे पनि अपजस जति कांग्रेसले पनि लिनुपर्ने अनि जस जति प्रधानमन्त्रीलाई मात्र जाने कुराले हामी अप्ठ्यारोमा परेका छौंं, गठबन्धन गरेर पनि आलोपालो वा एकलौटी सरकार चलाउँदा कसो होला भनेर उहाँले आफ्नो राजनीतिक र रणनीतिक धारणा व्यक्त गर्नुभएको हो । तर त्यो गठबन्धन टुटाउने वा सरकारमा बस्ने वा नबस्ने भन्ने धारणा होइन । कांग्रेसमा गठबन्धन सरकारबारे पक्ष वा विपक्ष छैन,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नेपाली कांग्रेसको जगमा बनेकाले यसले जनताको पक्षमा अधिकतम काम गर्नुपर्ने विश्वकर्माले औंल्याए । उनले भने, ‘गगन थापा भन्नुस् वा शेखर कोइराला भन्नुस्, सरकार सच्चिनुपर्छ भनेर नेताहरुले सार्वजनिक मञ्चमा बोल्नुभएको छ । उहाँहरुले राखेका कुरा जायज छन्, सही छन् । किनभने निर्वाचनताका गठबन्धनले गरेका प्रतिबद्धता कांग्रेसका प्रतिबद्धता हो । कांग्रेसका घोषणापत्र र जनताका आकांक्षा एकातिर राखेर एकलौटी चल्न खोज्दा समस्या भएको कुरा दइटा केन्द्रीय समिति बैठकमा पनि उठेका छन् ।’
अहिले कांग्रेसमा मन्त्री फिर्ता गर्नुपर्ने परिस्थिति नबनेको जिकिर पनि नेता विश्वकर्माले गरे । उनले भने, ‘कांग्रेसको भागमा जनताको माग सुन्ने मन्त्रालय कम छन् । हामीसँग बाहिर होहल्ला गर्ने र स्टन्टबाजी गर्ने मन्त्रालय छैनन् । गौण मन्त्रालय भए पनि कांग्रेसका मन्त्रीहरुले सरुसुरु भित्री काम गर्नुभएको छ । हाम्रो भागमा परेको स्वास्थ्य मन्त्रालयले विगतको भन्दा राम्रो काम गरेको छ । अस्पतालमा लामो लाइन छैन, डाक्टरको अभावमा सुधार आएको छ । परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय सम्बन्ध सुधारेको छ । तर एउटा मन्त्रीलाई औंल्याएर तपाईंलाई काम गर्न सक्नुभएन भन्ने अवस्था बनेको छैन ।’
गठबन्धन सरकार भएकाले समय आएपछि नेतृत्व बदलिने कुरा स्वाभाविक भएको पनि उनले बताए । विश्वकर्माले भने, ‘पहिलो कुरा त संसारभरि नै सरकारप्रति जनताको चासो, चिन्ता र आक्रोश हुन्छ नै । आलोपालोमा सहमति भएको हो । सरकारले राम्रो गरे पनि नगरे पनि समय आएपछि गठबन्धनको नेतृत्व बदलिन्छ ।’



प्रतिक्रिया दिनुहोस्