Logo

कुनै न कुनै दिन यो देशमा राजा होईन राजसंस्था आउँछ : मेयर रामकुमार थापा (भिडिओसहित)



काठमाडौं, १६ असोज । दमक नगरपालिकाका मेयर तथा राप्रपाका प्रभावशाली नेता रामकुमार थापाले अहिलेपनि मुलुकलाई राजा चाहिएको बताएका छन्। उनले आफू विद्यार्थीकालदेखि नै राजसंस्थाको पक्षमा लडेको स्मरण गराए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘राजा चाहिन्छ । जनताले राजा फालेको होईन । राजाले जनताको भावनाको कदर गरेको हो ।’ ०६२/०६३ सालको जनआन्दोलनमा राजा र हिन्दूत्वको बारेमा कुनै आवाज नउठेको पनि उनको दाबी छ । आफ्नो दलले राजसंस्थाको एजेण्डा नछाडेको थापाको जिकिर छ । उनले भने,‘हाम्रो अभियान यथावत छ । हाम्रा एजेण्डा रोकिनु त परै जाओस, थाती पनि राखिएको छैन् ।’

उनले आफूहरुले विकास निर्माणको हकमा धेरै काम गरेको पनि जिकिर गरे । दमकमा एमालेको दासत्व लामो भएकोले आफूहरुले कांग्रेससँग मिलेर त्यसलाई भत्काएको पनि उनले स्पष्ट पारे । उनले राजा चाहिन्छ की चाहिँदै भनेर जनमतसंग्रह गर्न चूनौति दिए । पूर्वराजा ज्ञानेन्द्र शाहले अपराध गरेको भए किन कारबाही भएन त ? भनेर उल्टै प्रश्न गरे ।

उनले अहिले ज्ञानेन्द्र शाह राजाको रुपमा नभएर एउटा नागरिक भएर हिँड्दा जनताको ठूलो संख्याले स्वागत गरेको सुनाए । मेयर थापाले कुनै न कुनै दिन नेपालमा राजा नभएर राजसंस्था आउने दाबी गरे । उनले भने,‘व्यक्तिको पक्षमा होईन, हामीलाई संस्था चाहिएको हो । हिजो थिए, समयले भोलि को हुन्छ ? त्यो आफ्नो ठाउँमा छ । राजसंस्था अनिवार्य छ ।’



प्रतिक्रिया दिनुहोस्