काठमाडौं,१६ असोज । चीनमा जारी १९औं एसियाली खेलकुदको क्वाटरफाइनलअन्तर्गत भरतविरुद्धको खेलमा नेपाल २३ रनले पराजित भएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको भारतले यसस्वी जैसवालको बिष्फोटक ब्याटिङको मद्दतले २०२ रन जोडेको थियो । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने भारतका कान्छा खेलाडी बनेका जैसवालले ४९ बलको सामना गर्दै ७ छक्का र ८ चौका हिर्काउँदै १०० रन बनाएका छन् । उनलाई १६ दशमलव २ ओभरमा नेपालका दीपेन्द्रसिंह ऐरीले आउट गरेका थिए ।
जैसवालले १०० रन बनाएको भारतको पालीमा कप्तान रुतुराज गाईक्वार्ड र जितेश शर्माले समान २५ रन बनाए भने नेपालका लागि खतरनाक सावित भएका रिंकु सिंहले नटआउट रहँदै ३५ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान १ विकेट लिए ।
भारतले दिएको २०३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रनमात्रै बनाउन सक्यो । नेपालका लागि अलराउण्डर दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । मंगोलियाविरुद्धको खेलमा विश्व कीर्तिमान बनाएका ऐरीले भारतविरुद्धको खेलमा १५ बलमा ४ चौका हिर्काउँदै ३२ रन बनाएका हुन् । त्यस्तै कुशल मल्ल र सन्दीप जोराले समान २९ रन बनाए । २२ बलमा २ चौका र २ छक्का हिर्काउँदै मल्लले २९ रन बनाएका थिए । तय्स्तै १२ बलकबो सामना गरेका जोराले पनि ३ छक्का हिर्काउँदै २९ रन बनाएका थिए । नेपालका ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेख क्रमस २८ र १० रनमा आउट भए । कप्तान रोहित ३ रनमा आउट भएको खेलमा गुल्शन झा ६, सोमपाल कामी ७ र करण केसीले १८ रनमा आउट भए ।
भारतसँग पराजित भएपनि नेपालले डटेर सामना गरेको भन्दै विभिन्न व्यक्तिहरुले सान्तवना दिईरहेका छन् । यस्तैमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली टिमलाई धन्यवाद दिएका छन् । आज सामाजिक सञ्जालमार्फ लामिछानेले भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको भन्दै धन्यवाद दिएका हुन् ।
‘भारतसँग २३ रनको मात्र अन्तर भनेको नेपाली क्रिकेट टिमले गरेको निरन्तरको उत्कृष्ट प्रदर्शन नै हो। हाम्रो भविष्य निकै उज्ज्वल छ’, नेपाल–भारतको खेल सकिनासाथ लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उत्कृष्ट खेलका लागि धन्यवाद टिम नेपाल।’ file photo