Logo

रिजालपछि दाहाल,ढकाल र शाहीको पनि गुम्यो एमाले केन्द्रीय सदस्य पद



काठमाडौं,१६ असोज । नेकपा एमालेले मंगलबारसम्ममा ४ वटा प्रदेशको प्रदेश अधिवेशन सम्पन्न गरेको छ । एमालेले लुम्बिनी, कर्णाली, कोशी र बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न गरेको हो । त्यस्तै सोमबारबाट सुरु भएको एमाले गण्डकीको अधिवेशन टुंगिने तयारीमा पुगेको छ भने, मधेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन आगामी साता हुँदैछ ।

एमालेको भदौ १७ देखि १९ गतेसम्म भएको लुम्बिनीको प्रथम अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका थिए । अध्यक्षमा निर्वाचित उनले ४७९ मत ल्याएका थिए । भने उनका निकटम् प्रतिस्पर्धी बानेका हरिप्रसाद रिजालले ४७७ मत पाएका थिए । कँडेल र रिजालबीचमा जम्मा २ मतको अन्तर रहेको थियो ।

त्यस्तै एमालेको गतहप्ता सम्पन्न बागमती प्रदेश अधिवेशनबाट कैलाश ढुंगेल र सोमबार सम्पन्न कर्णाली अधिवेशनबाट गुलाबजंग शाह तथा कोशी अधिवेशनबाट घनश्याम खतिवडा अध्यक्षमा निर्वाचत भएका छन् ।

एमालेको चार प्रदेश अधिवेशन सम्पन्न भइसक्दा ४ जना केन्द्रीय सदस्यले केन्द्रीय सदस्य पद गुमाएका छ्न । एमालेको १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका मीनबहादुर शाही, हरिप्रसाद रिजाल, कृष्ण दाहाल र विनोद ढकालले केन्द्रीय सदस्य पद गुमाएका हुन् ।

कुनै पनि कमिटीको पदाधिकारी, सदस्य रहेको व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्यको उम्मेदवार बने स्वतः पद रिक्त हुने व्यवस्था एमाले विधानको धारा ६७ (४) मा छ। एमालेको उक्त विधानको व्यवस्था अनुसार नै रिजाल, दाहाल, शाही र ढकालको पद गुमेको हो ।

रिजाल लुम्बिनीमा राधाकृष्ण कँडेल, दाहाल बागमतीमा कैलाश ढुंगेल, शाही कर्णालीमा गुलाबजंग शाह र ढकाल कोशीमा घनश्याम अतिवडासँग अध्यक्षमा पराजित भएका थिए । अधिवेशनमा पराजित भएका ४ जनामध्ये शाही र रिजाल एमाले अध्यक्ष केपी शर्मा ओली निकटका नेता हुन् भने ढकाल पूर्व राष्ट्रपति तथा पूर्व एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी निकटका नेता हुन् । त्यस्तै बागमती अध्यक्षमा पराजित दाहाल उपाध्यक्षद्धय विष्णु पौडेल र सुरेनद्र पाण्डे निकट मानिन्छन् ।



प्रतिक्रिया दिनुहोस्