Logo

सिँचाइ योजनाले फेरियो मालिकाका किसानको दैनिकी



गुल्मी, १६ असोज । गुल्मीको मालिका गाउँपालिकाका किसान यतिबेला खुसी छन् । उनीहरुको खुुसीको कारण हो, दुई करोडभन्दा बढी लागतमा निर्माण भएको सिँचाइ योजना ।

सिँचाइको अभावमा वर्षौैैँदेखि आकाशे पानीको भर पर्दै आएका यहाँका किसानमा यतिबेला खेतखेतमा सिँचाइ सुविधा पुगेपछि थप जाँगर पलाएको छ । पक्की नहरको माध्यमबाट किसानका खेतखेतमा सिँचाइ पुगेपछि वर्षौदेखि बाँझिएका खाली जमिन हराभरा बनेका छन् ।

सिँचाइका कारण किसानले समयअनुसारका अन्नवाली उत्पादन गर्न थालेका छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीको सहयोगमा मालिका गाउँपालिका–६ अन्तर्गत भैसेरुम्टामा सिँंचाइ योजना निर्माण भएपछि यतिबेला त्यहाँका किसानको दैनिकीसमेत फेरिएको हो ।

स्थानीयको लामो समयको प्रयासपछि गत तीन वर्षअघि शुरु भएको योजनाले यो वर्ष पूर्णता पाएको हो । सिँचाइ योजना निर्माणको जिम्मा पाएको अञ्जना श्रेष्ठ जेभी र जल उपभोक्ता समितिको सहयोगमा निर्धारित समयमै निर्माण सम्पन्न गरेको जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख भरतप्रसाद सापकोटाले जानकारी दिए ।

स्थानीय अर्जै खोलावाट पानीको स्रोत व्यवस्थापन गरी निर्माण गरिएको उक्त सिँचाइ नहरको कुल लम्बाई तीन हजार छ सय ५० मिटर छ । गाउँको फाँटमा सिँचाइ पुगेपछि त्यस क्षेत्रको ६० हेक्टर क्षेत्रफलमा सिँचाइ पुगेको र ६५ घरधुरी प्रत्यक्ष लाभान्वित बनेको कार्यालय प्रमुख सापकोटाले बताए ।

पानीको अभावमा खेत बाँझै राखेर बस्न विवश त्यस क्षेत्रका किसानलाई सिँचाइ योजनाले ठूलो राहत पुगेको स्थानीय भैसेरुम्टा सिँंचाइ योजनाका अध्यक्ष देविराम गौतमले बताए । “सिँचाइको अभावमा खेत बाँझै राखेर बजारवाट चामल किनेर खानुपर्ने बाध्यता थियो, तर अहिले तिनै बाँझा खेतमा सिँचाइ पुगेपछि लहलह धान झुल्न थालेका छन, अब त बजारबाट चामल बेसाउनु पनि पर्दैन”, स्थानीय देवीराम गौतमले भने ।

योजनाको दिगो व्यवस्थापन गर्न ठूलो चुनौती रहेको भन्दै सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख भरतप्रसाद सापकोटाले स्थानीय समुदाय र उपभोक्ताले नै त्यसको संरक्षण र सम्वद्र्धनमा ध्यान दिनसकेमा योजना दिगोरुपमा सञ्चालन गर्न सकिने बताएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot