Logo

ओलीको अभिव्यक्ति प्रतिगामी र पश्चगामी : माओवादी महासचिव



काठमाडौं, १७ असोज । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति प्रतिगामी र पश्चगामी चिन्तनको उपज भएको आरोप लगाएका छन् ।
‘सरकारले जतिसुकै राम्रो काम गरे पनि प्रतिपक्षले जहिलेसुकै विरोध गर्नुपर्ने र हरेक कुरालाई निषेध गर्नुपर्ने परम्परागत संसदीय अभ्यास छ । केपी ओलीले त्यही नकारात्मक पक्षलाई दह्रोसाथ आत्मसात् गर्नुभएको हो । वर्तमान संविधानका गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक प्रतिनिधित्वजस्ता उपलब्धिको मूल जग दसवर्षे जनयुद्ध हो । त्यसलाई निषेध गर्नु भनेको प्रतिगामी र पश्चगामी चिन्तनको उपज हो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता गुरुङले ओली वर्तमान सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानमा आफू पनि तानिन्छु कि भनेर त्राहिमाम भएको आरोप पनि लगाए । उनले थपे, ‘कतिपय कमीकमजोरीका बाबजुद सरकारले सुशासन कायम राख्न जुन अभियान सुरु गरेको छ, त्यो अहिलेको कानुनको सापेक्षतामा सकारात्मक छ । उहाँ सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानमा आफू पनि तानिन्छु कि भनेर त्राहिमाम हुनुभएको छ । उहाँको दुई घन्टाको अभिव्यक्ति परिवर्तनको विरोधमै केन्द्रित थियो ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण सफल रहेको दाबी पनि उनले गरे ।
उनले नेपाली कांग्रेस औपचारिक रुपमा सरकारमा रहेको र सरकारका सबै निर्णय आपसी सहमतिमा भएको बताए । उनले भने, ‘अहिलेको प्रक्रियामा कांग्रेसको विमति छैन । उहाँहरुको आन्तरिक मामिला र अन्तर्विरोधबारे म टिकाटिप्पणी गर्न चाहन्नँ ।’ गुरुङले नेपालगन्जमा सामाजिक सद्भाव कायम गर्न पनि आह्वान गरे । उनले भने, ‘नेपाल बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विशेषता भएको मुलुक हो । राष्ट्रिय अस्मितामा संकट खडा भएको बेला सामाजिक सद्भाव, एकता र एकले अर्कालाई सम्मान र कदर गर्नु जरुरी छ । कसैले पनि अस्थिरता र अराजकता निम्त्याउनुहुँदैन ।’



प्रतिक्रिया दिनुहोस्