काठमाडौं, १७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले आफू नेपालगन्जको जनजीवन सामान्य बनाउन लागिरहेको बताएका छन् ।
‘म हिजो साँझ नेपालगन्ज आएँ । छिटफुट घटना भएकाले कर्फ्यु लाग्यो । अहिले शान्त नै छ । हामी सबै पुलिस प्रशासनसँग मिलेर शान्ति कायम गर्न लागेका छौं,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता राणाले सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरे । ‘मैले हिजो सदनमा पनि विशेष समय लिएर कुरा उठाएँ । एउटा धर्मावलम्बी सामाजिक सञ्जालमा स्टेटस लेखेर इन्डियातिर भाग्यो । त्यसको प्रतिवादमा अर्को समुदाय उठ्यो । उसले प्रदर्शन गरेपछि अर्को समुदायले एन्टि-रियाक्सन गर् यो । ढुंगा हान्ने काम भयो,’ उनले थपे, ‘अहिले सबैको हातमा मोबाइल छ । फ्याट्ट केही लेखिदिन्छ । त्यसले नेपालगन्ज मात्र होइन, अन्यत्र पनि शान्ति सुरक्षा खलबलिने परिस्थिति छ । त्यसैले सरकारले सामाजिक सञ्जाललाई कन्ट्रोल गर्नुपर् यो । साइबर क्राइम लगाएर ठाउँका ठाउँ कारबाही गर्नुपर् यो ।’
उनले धार्मिक सहिष्णुता बिथोलिन नदिन सरकारले संयमतापूर्वक कदम चाल्नुपर्ने पनि बताए । राणाले भने, ‘नेपालगन्ज मेरो सहर हो । म यो सहरको नगरप्रमुखमा दुई पटक निर्वाचित भएँ । मैले १० वर्षसम्म हिन्दुले मुसलमानलाई र मुसलमानले हिन्दुलाई एक थप्पड पनि हान्न दिइनँ । मेरो कार्यकाल सकिने बित्तिकै यस्तो सुरु भएको छ । के भन्ने ? सरकारको कदमले कसैलाई उत्तेजित नगराओस् ।’
अहिलेको नेतृत्व र व्यवस्था परिवर्तन नगरीकन देश उँभो लाग्न नसक्ने पनि उनले बताए । राणाले भने, ‘माटो सुहाउँदो व्यवस्था मात्र सफल हुन्छन् । २० वटा विकसित, धनी र सफल राष्ट्रमध्ये ११ वटा देशमा राजतन्त्र छ । नेपालमा राजासहितको प्रजातन्त्र, सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र आवश्यक छ । विश्वमा एक मात्र हिन्दुराष्ट्र कायम गर्नुपर्छ । संविधानभित्र बस्ने, राजनीति नगर्ने राजा राख्नुपर्छ ।’
अहिलेका राष्ट्रपति राष्ट्रको भन्दा पनि पार्टीको र व्यक्तिको राष्ट्रपति बनेको आरोप पनि उनले लगाए । माओवादीको जनयुद्ध दिवसलाई राष्ट्रिय पर्व मानेर बिदा दिएको विषयमा आफ्नो चित्त नबुझेको पनि राणाले बताए ।