Logo

केही मानिसलाई मन्त्री बनाउनका लागि मात्र कांग्रेस सरकारमा बसिरहनुको अर्थ छैन : नेता पौडेल



काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले पुष्पकमल दाहाल प्रचण्डको सरकारप्रति पार्टीभित्र असन्तुष्टि चुलिएको बताएका छन् । आम जनताको असन्तुष्टि बढ्दै जाँदा सरकारबाट बाहिरिनुपर्ने स्थिति आउन सक्ने चेतावनी पनि उनले दिए ।
‘सरकारमा बसेपछि जनताको पक्षमा काम गर्नुपर् यो । जनतालाई डेलिभरी दिन सक्नुपर् यो । महँगी नियन्त्रण हुनुपर् यो । जनताले राहत महसुस गर्न पाउनुपर् यो । सरकार बसेको आठ महिना हुँदा पनि देखिने उपलब्धि हुन नसकेपछि आम जनतामा असन्तुष्टि बढेको छ । कांग्रेसभित्र असन्तुष्टि बढेको छ । भोलि माओवादीभित्र पनि असन्तुष्टि बढ्ला । त्यसको परिणाम प्रतिकूल हुन सक्छ भनेर हामीले सचेत गराएका हौं,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग पौडेलले भने ।
आफूहरुले समर्थन गरेको सरकारलाई काम देखाउन भन्दा आलोचना मात्र नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उनले आग्रह गरे । पौडेलले भने,हामीले प्रधानमन्त्रीको आलोचना गरेका होइनौं, परिणामुखी काम गर्नुस् भनेका हौं । सरकारले कहाँ कहाँ के काम गरेको छ ? हामीले थाहा पाउनुपर् यो नि । जनजीविका सामान्य भएको हो कि ? महँगी नियन्त्रण भएको हो कि विकास निर्माणको नयाँ काम भएको हो ? विदेश जानेको संख्या घटेको हो कि भ्रष्टाचार नियन्त्रण भएर सुशासन कायम भएको हो ? सरकारले यति धेरै काम गरोस् कि मन्त्री र प्रधानमन्त्रीको देशभरि प्रशंसा गर्न पाउनुपर् यो भनिरहेका छौं ।’
आम जनताले सरकारको उपस्थिति महसुस गर्न नसकेको आरोप पौडेलले लगाए । उनले भने, ‘सरकारले महँगी ७ प्रतिशतभन्दा बढ्दैन भनेको थियो । अहिले ४० देखि ४५ प्रतिशतसम्म महँगी बढेको छ । अन्तर्राष्ट्रिय बजारमा घट्दा तेलको भाउ घट्दैन, बढ्दा मात्र बढ्छ । गलत काम गरे सरकारले छाड्दैन भन्ने ग्यारेन्टी हुनुपर्नेमा उल्टै संरक्षण भएको कुरा आएको छ । सर्वसाधारण जनता दसैंमा आफ्नो घरसम्म पुग्न नसक्ने स्थिति आएको छ । सरकारको उपस्थिति कतै पनि देखिएन ।’
नेता पौडेलले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कसले काम गर्न नदिएको हो, स्पष्ट पार्न चुनौती दिए । उनले भने, ‘हामीले गृहमन्त्रीलाई हटाउनुपर्छ भनेका छैनौं, काम गर्नुपर्छ भनेका छौं । केपी ओली र हामीले भनेका कुरा उस्तै होइनन् नि । चर्को स्वरले प्रस्तुत गर्दैमा उपलब्धि मानिन्छ र ? केस पनि छान्ने, केसभित्रको मान्छे पनि छान्ने अनि सुशासनका निम्ति निर्मम भएको हुंकार गर्न मिल्छ ? गृहमन्त्रीले कांग्रेस नेतृत्वले यहाँ यहाँ काम गर्न रोक्यो भनेर पदमै बसेर भन्नुपर् यो । भोलि पदबाट निस्केर कांग्रेसले काम गर्न दिएन भन्ने ? कहाँ कहाँ सहयोग भएन ? हामी सहयोग गर्न तयार छौं ।’
उनले पार्टी महामन्त्री गगनकुमार थापाको अभिव्यक्तिको बचाउ पनि गरे । पौडेलले भने, ‘महामन्त्रीले सरकारलाई परिणाममुखी काम गर्ने वातावरण बनाऊँ भन्नुभएको हो । गठबन्धन टुटाउनुपर्छ भन्नुभएको होइन, मोडालिटीको कुरा गर्नुभएको हो । हाम्रा मन्त्रीहरु बाहिरिनुपर्छ भन्ने कांग्रेसको आधिकारिक प्रस्ताव होइन नि । तर सीमित मानिसलाई मन्त्री बनाउनका लागि मात्र कांग्रेस सरकारमा बसिरहनुको अर्थ छैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot