Logo

पशु संरक्षणमा चुनौती



दोधारा चाँदनी (कञ्चनपुर), १७ असोज । जनावरहरुको संरक्षण गर्नाका साथै महत्वका बारेमा जागरुक गराउन हरेक वर्ष अक्टोवर ४ मा विश्व पशु दिवस मनाइन्छ । पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई सन्तुलत बनाउन पनि जनावरको योगदान महत्वपूर्ण रहन्छ । पूर्वीय सभ्यतामा जनावरलाई अझ विशेष महत्व दिएको पाइन्छ । हिन्दू धर्मावलम्बीमा पशुलाई देवताको प्रतीकका रुपमा पूजा गर्ने संस्कार रहेको छ ।

विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनका रुपमा पुज्ने प्रचलन छ । तिहारमा विशेषगरी पशुको महत्व बढी छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने प्रचलन छ । अझ हिन्दू धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा पुण्य दिने दानसँग तुलना गरिन्छ ।

पछिल्लो समय पूजा गरिने गाईको संरक्षण भने हुन सकेको छैन । राष्ट्रिय जनावरका रुपमा रहेको गाई लगायतका जनावर प्रतिको मानवीय व्यवहार भने क्रूर हुन थालेको छ । गाईले दूध दिने बेलासम्म पाल्ने र दूध दिन छाडेपछि सडकमा छाड्ने प्रवृत्तिले गाई संरक्षणमा चुनौती थपिएको पशु संरक्षणकर्मी बताउँछन् ।

पाँच वर्षदेखि छाडा पशुको उपचारमा खटिएका पशु संरक्षणकर्मी विष्णुप्रसाद पनेरुले पछिल्लो समय पशुप्रति मानव क्रूर हुन थालेको बताए । “दूध दिने बेलासम्म गाई बाँध्ने र दूध दिन छाडेपछि सडकमा छाड्ने प्रवृत्तिले पशु संरक्षणमा चुनौती थपिएको छ”, उनले भने, “गाई त हाम्रो राष्ट्रिय जनावर पनि हो यसमा सरकारले पनि ध्यान दिनुपर्छ ।” उनले आफू पाँच वर्षदेखि निरन्तर रुपमा छाडा पशुको संरक्षण, घाइतेहरुको उपचारमा खटिएको बताए । “पशुलाई धर्ममा पूजा गर्ने तर मनमा नमान्ने प्रवृत्तिले पशु संरक्षण हुन सकेका छैन”, उनले भने, “यहाँ पशु संरक्षणका लागि थुप्रै गौशाला निर्माण भएका छन्, त्यहा राम्रोसँग व्यवस्थापन गर्न सकेको छैन ।” उनले पशु संरक्षणका लागि सबैले सचेत हुनुपर्ने बताए ।

त्यसैगरी छाडा पशुको स्याहारमा खटिएका यहाँका स्थानीय मदन चन्दले पछिल्लो समय पशुलाई मानविय व्यवहार नभएको बताए । “मानिसहरु स्वार्थी भए दूध दिए मात्रै पाल्ने नभए सडकमा छाड्ने जुन प्रवृत्ति छ यसले ठूलो समस्या सिर्जना गरेको छ”, उनले भने, “राष्ट्रिय जनावर र तिहारमा पूजा गरिने गाईप्रति मानवीय व्यवहार भएको छैन ।” उनले सरकारले पनि पशु व्यवस्थापनमा ध्यान दिन नसकेको बताए । सडकमा पशुलाई छाडा छाड्दा सवारी दुर्घटनाको जोखिम बढेको छ भने सडक कुरुपसमेत हुने गरेको छ । जनावरहरुको संरक्षणका लागि सबै पक्षले सचेत भए मात्रै पशु संरक्षण गर्न सकिने संरक्षणकर्मीहरु बताउँछन् । रासस/File photo



प्रतिक्रिया दिनुहोस्