Logo

६ बलमा ५ रन बटुल्न नसक्दा एसियाडको क्रिकेटमा मलेसियाको चुनौती समाप्त



काठमाडौं,१७ असोज । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्वाटरफाइनलको खेलमा बंगलादेसँग पराजित हुँदै मलेसियाले आफ्नो क्रिकेटमा चुनौती समाप्त गरेको छ ।

आज भएको क्वार्टर फाइनलमा टेस्ट राष्ट्र बंगलादेशले मलेसियाविरुद्ध २ रनको रोमाञ्चक जीत दर्तागर्दै सेमिफाइनल पुगेपछि मलेसिया क्वाटरफाइनलबाटै घर फर्किने निश्चित भएको छ ।

टी-२० फरम्याटको खेलमा पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ११६ रन बनाएको थियो । ११७ रनको लक्ष्य पछ्याएको मलेसियाले अन्तिममा धैर्यता गुमाउँदा इतिहास बनाउने अवसरबाट चुक्न पुगेको छ ।

मलेसिया सहज जीततर्फ अघि बढे पनि अनुभवी बंगलादेशले अन्ततः रोमाञ्चक जीत दर्ता गरेको हो ।अन्तिम ६ बलमा ५ रन बटुल्न नसक्दा मलेसिया बलियो टोलीविरुद्ध ऐतिहासिक जीत निकाल्नबाट विमुख हुन पुग्यो ।

मलेसियाका अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न नसकेपनि विरनदीप सिंहले ३९ बलमा आक्रामक ५२ रन बनाए । तर टिमलाई ऐतिहासिक जीत दिलाउन सकेनन् ।

अन्तिम ओभरमा लगातार तीन बल डट खेलेका उनी चौथो बलमा क्याचआउट भएपछि मलेसिया जीतसम्म पुग्न सकेन । २ रनको झिनो जितसँगै बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ । आजै भएको अर्को खेलमा श्रीलंकालाई ८ रनले हराउँदै अफ्गानस्थान पनि सेमिफाइनलमा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्