Logo

फिलिपिन्समा चामलको मूल्यमा लगाइएको सीमा हटाइयो



मनिला, १७ असोज । गरिब परिवारलाई सहयोग गर्न मुख्य खाद्यान्न चामलको मूल्यलाई सीमित गरेको केही सातापछि फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले बुधबार यसको मूल्य सीमा हटाएका छन् ।

राष्ट्रपति मार्कोसले सेप्टेम्बरको सुरुमा सामान्य चामलको खुद्रा मूल्य प्रतिकेजी ३१ पेसो (फिलिपिन्सको मुद्रा) र उच्च गुणस्तरको मूल्य प्रतिकेजी ४५ पेसो तोकेका थिए ।

यसले बजारलाई विकृत बनाउने र चामलको अभाव सिर्जना हुने भन्दै केही अर्थशास्त्रीहरूले राष्ट्रपतिको उक्त कदमको आलोचना गरेका थिए ।

राष्ट्रपति मार्कोसको आर्थिक समूहकी एक सदस्यले सामाजिक सञ्जालमा उक्त योजनाको खिल्ली उडाएपछि उनलाई बर्खास्त गरिएको थियो ।

“आजदेखि हामीले सामान्य चामल र उच्च गुणस्तरको चामल दुवैका लागि मूल्य सीमा हटाएका छौँ”, छापा मारेर बरामद गरिएको एक हजार बोरा चामल गरिबहरूलाई वितरण समारोहमा उनले भने।

कृषिमन्त्रीसमेत रहेका राष्ट्रपति मार्कोसले चामलको मूल्यमा लगाइएको सीमा हटाउने यो उपयुक्त समय भएको बताए ।

एक करोड १० लाख जनसङ्ख्या भएको फिलिपिन्सको मुख्य खाद्यान्न चामल हो । तर उसले पर्याप्त चामल उत्पादन गर्न सकेको छैन । फिलिपिन्स विश्वको प्रमुख चामल आयातकर्ता पनि हो ।

गत जुलाईमा मुद्रास्फीति दर चार दशमलव सात प्रतिशत रहेकामा अगस्टमा बढेर पाँच दशमलव तीन प्रतिशत पुगेपछि मार्कोस सरकारले उपभोक्ता मूल्यमा नियन्त्रण गर्न कोसिस गरिरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्