Logo

आईओईमा सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आवश्यक छः वरिष्ठ इन्जिनियर कोइराला



काठमाडौं, १७ असोज । नेपाल भ्यालुअर्स एसोसिएसन तथा बीपी स्टडी युथ सर्कलका केन्द्रीय अध्यक्ष वरिष्ठ इन्जिनियर ऋषि कोइरालाले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा क्याम्पस प्रमुख, डीन र विद्यार्थीहरुकाबीचमा देखिएको विवादले उग्र रुप लिँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै उनले सतहमा विवादको मूल कारण शुल्क वृद्धि देखिएपनि यसबाट शैक्षिक वातावरण खल्बल्याउने षडयन्त्रको गन्ध आएको बताएका हुन् ।

दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने थलो र प्राज्ञिक जगतमा अत्यन्त नीच र दुनियाँका सामू लाज्जावोध हुने हर्कत दुःखद् भएको उनले बताएका छन् । आफ्नो स्वार्थ पूरा गर्नका लागि इन्जिनियरिङ क्याम्पसलाई राजनीतिकरण गर्नु देशका लागि दुर्भाग्य हुने उनले बताएका छन् ।

‘आफ्नो क्षणिक तुच्छ स्वार्थका लागि अहिलेसम्मकै प्रतिष्ठित र उच्च मान्यताप्राप्त इन्जिनियरिङ क्याम्पसलाई राजनीतिकरण गरेर भाले जुधाईको थलो बनाउनु देशकै दुर्भाग्य हो,’– उनले विज्ञप्तिमा भनेका छन् ।

अब्बल विद्यार्थी दिन प्रतिदिन विदेश पलायन भइरहेको अवस्थामा देशमा भएका प्रतिष्ठित शैक्षिक संस्थाहरुले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्दै विभिन्न बहानामा विवाद ल्याउनु उचित नहुने उनको भनाई छ ।

यस प्रकारको समस्या समाधानका लागि उनले विश्वविद्यालयका उच्चपदस्थ अधिकारी, शिक्षा मन्त्रालय र सिङ्गो सरकारले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकलाई राजनीतिक स्वार्थभन्दा माथि उठेर हस्तक्षेपकारी भूमिका निर्वाह गर्न पर्ने आवश्यकता औंल्याएका छन् । यसो गर्न नसकेको खण्डमा अझै स्थिति काबु बाहिर जाने उनको भनाई छ ।

आईओईको ढोकामा आफ्नो सुन्दर भविश्य कुरेर बसेका हजारौं विद्यार्थीहरुको भविष्य सूनिश्चित गर्न सरकारले छिटोभन्दा छिटो पहल गर्न आवश्यक रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot