Logo

एमाले गण्डकी अधिवेशन: १२ बजेदेखि मतदान सुरू हुने, पीएस र खगराजका नाममा नवराज र मायानाथ प्यानलसहित मैदानमा



काठमाडौं,१८ असोज । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । बिहान ८ बजेबाट सुरु गर्ने तयारी भएको मतदान बुधबार रातैभर परेको अविरल वर्षातका कारण ढिलाई भएको निर्वाचन समितिले जनाएको छ ।

गण्डकी प्रदेश अध्यक्षका निम्ति निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी चुनावी मैदानमा छन् । उनीहरू दुवै प्यानलसहित मैदानमा उत्रिएका छन । शर्मालाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र उपाध्यक्ष विष्णु पौडेलको साथ छ । अधिकारीको पक्षमा स्थायी कमिटी सदस्य खगराज अधिकारी रहेका छन् ।

अधिकारीलाई एमाले महासचिव शंकर पोखरेलको साथ छ । तर, आफू कुनै गुटमा नलागेको उनले सामाजिक सञ्जालमार्फत प्रस्टोक्ति दिएका छन् । महासचिव पोखरेल र स्थायी कमिटी सदस्य अधिकारी मायानाथलाई जिताउन भने लागिपरेका प्रष्टै देखिन्छ ।

अधिकारीको प्यानलबाट उपाध्यक्षमा नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मी आचार्य, महिला उपसचिवमा कास्कीकै मीना गुरुङ र अर्को उपसचिवमा म्याग्दीका सन्तोष रावलले उमेदवारी दर्ता गराएका छन् ।

म्याग्दीका शर्माको प्यानलबाट उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, महिला उपसचिवमा पर्वतका मञ्जु अधिकारी र अर्को उपसचिवमा कास्कीका दामबहादुर विकले उमेदवारी दर्ता गराएका छन् ।

अध्यक्षका प्रत्यासी अधिकारीलाई जिताउन खगराज र शंकर पोखरेलका अतिरिक्त एमाले अध्यक्ष केपी शर्मा ओलीले सामेत आफ्नो पक्षबाट आवश्यक निर्देशन दिएको अधिकारी निकट स्रोतले बताएका छ । उता निवर्तमान अध्यक्ष शर्मालाई भने उपमहासचिव गुरुङसहित उपाध्यक्ष विष्णु पौडेल। सचिव पद्या अर्याल र स्थायी कमिटी सदस्य तनहुँका किरण गुरुङको समर्थन रहेको बताईन्छ ।

यद्यपि पद्या निकट रश्मि आचार्यलाई मायानाथले आफ्नो प्यानलबाट सचिवको उम्मेदवार बनाएपछि उनले मायानाथलाई समर्थन गरेको हल्लासमेत फैलाईएको छ । पद्याले भने यसबारेमा आधकारीक रुपमा आफ्नो धारणा सार्वजनिक गरेकी छैनन् ।

१ अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १६५ जनाको प्रदेश कार्यसमिति चयनका लागि प्रदेशमा रहेका ११ वटै जिल्लाबाट कूल ९०७ जना प्रतिनिधि छनोट भएका छन् । जसमा काँस्कीबाट सबैभन्दा धेरै र मुस्ताङबाट सभैभन्दा कम प्रतिनिधि छनिएका छन् ।



प्रतिक्रिया दिनुहोस्