काठमाडौं,१८ असोज । बुधबार सर्वोच्च अदालत परिसरमै बेहोस भएर ढलेपछि उपचारका लागि वीर अस्पताल लगिएकी नेपालगञ्जकी भारती मानन्धरले आज पुनः माइतीघरमा अनशन सुरु गरेकी छन् । वीर अस्पतालमा उपचारपश्चात उनी आज फेरि अनशन बसेकी हुन् ।
सरकारले आफ्ना श्रीमान्का हत्याराको बाँकी कैद मिनाह गरेको विरोधमा उनले हिजोदेखि अनशन सुरु गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकेका योगराज ढकाल रिगलको बाँकी सजाय मिनाह गरेका थिए ।
२०७२ असार २९ गते दुई समूहकोबीचमा झडप हुँदा नेपालगञ्जका चेतन मानन्धको हत्या भएको उक्त हत्यामा संलग्न रिगल भनिने योगराजलाई बाँके जिल्ला अदालतले आजीवन कारावासको सजाय तोकेको थियो । तर सजाय पूरा नहुँदै उनी संविधान दिवसको अवसरमा कारागार मुक्त भएका थिए ।
उनी करिब ५ वर्ष जेल बसेर माफी पाई थुनामुक्त भएका हुन् । राष्ट्रपतिबाट सजाय मिनाहा भएपछि दाङको घोराहीस्थित कारागारमा रहेका उनी लावालस्करसहित नेपालगञ्ज आएका थिए । उनलाई माफी दिने सरकारको सिफरिसको चौतर्फी विरोध भइरहेको छ ।
राष्ट्रपतिको उक्र कदमविरुश्रद्ध भारतीले सर्वोच्चमा रिटसमेत दायर गरेकी छन् । जसको आज सुनुवाई हुँदैछ । भारतीले दायर गरेको उक्त रिट सुनुवाइका लागि न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा पेश तोकिएको छ ।