Logo

एमाले कोशीको अध्यक्षमा पराजित ढकालले भनेः केन्द्रीय नेतृत्वले गरेको घेराबन्दीको भुंग्रोमा परेर चुनाव हारेँ



काठमाडौं,१७ असोज । नेकपा एमाले कोशी प्रदेशका निवर्तमा अध्यक्ष विनोद ढकालले सोमबार सम्पन्न प्रदेश अधिवेशनको चुनावमा आफूलाई हराउन प्रदेशदेखि केन्द्रीय नेतृत्वलेसमेत घेराबन्दीमा पारेको गुनासो गरेका छन् ।

बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै ढकालले आफूलाई चुनव हराउन पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जोडेर अनावश्यक प्रचारवाजीसमेत भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

ढकालले पार्टीको विधानको भावनाविपरीत केन्द्रीय नेतृत्वले अमूक उमेदवारको पक्षमा लागेर कार्यकर्तालाई डर, त्रासमा पारेर भोट माग्ने र अर्को उमेदवारलाई तिरस्कार गरेको व्यवहार देखिएको बताए ।

“स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यहरुले नै खुलेआम रुपमा अमूक उमेदवारको पक्षमा भोट माग्नुभयो,” उनले भने, “अर्को उमेदवारलाई घेराबन्दी गर्ने काममा नियोजित रुपमा लागेको मात्र होइन, आफूखुसी गरिरहेको त्यो कर्ममा पार्टी अध्यक्ष केपी ओलीको समेत नाम जोडेर प्रचारबाजी गरियो ।”

ढकालले यस्तो कार्यबाट पार्टी अध्यक्ष जस्तो संस्थालाई समेत विवादमा पार्ने काम भएको सुनाए । आफूले जीवनमा धेरै चुनौतीहरुको सामना गरेको बताउँदै ढकालले पार्टी संकटमा परेका बेला एकीकृत बनाइराख्न दिल दिमाग लगाएर काम गरेको बताए ।

उनले भने, “पञ्चायतविरोधी आन्दोलनको रापतापबाट राजनीतिक जीवन सुरु गरेको मैले पार्टीले दिएको सबै जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखिनँ ।” आफूले चुनावको परिणामलाई सहर्ष स्वीकार गरेको र आगामी दिनमा नवनिर्वाचित नेतृत्वलाई सम्पूर्ण सहयोग गर्ने पनि बताए ।

आफूले अध्यक्ष ओलीसँग भेटघाट गर्दा नेतृत्वमा नउठ्नुहोस् नभनेको बताउँदै उनले आफूले त्यसपछि चुनावी तयारी थालेको बताए ।

कोशी प्रदेश कमिटीको निर्वाचनमा ढकाल घनश्याम खतिवडासँग पराजित भएका थिए । सर्वसम्मत गर्न प्रयास गरिए पनि ढकालले खतिवडालाई नेतृत्व छाड्न नमानेपछि चुनाव भएको थियो । खतिवडाको पक्षमा केन्द्रीय नेतृत्व नै लागेका कारण ढकाल पराजित बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्