काठमाडौं,१८ असोज । नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले मंगलबार बझाङको विभिन्न स्थान केन्द्रबिन्दु भएर गएको भूकम्पको कारण भएको जनधनको क्षतिपूर्ति तत्काल उपलब्ध गराउन माग गरेका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै संसदको शिक्षा समितिका सभापति समेत रहेका जोशीले भूकम्प प्रभावितलाई राहात उपलब्ध गराउँदै प्रभावित जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न माग गरेका छन् । उनले दुर्गम जिल्लामा कुनैपनि विपद् पर्दा नेताहरु हेलिकप्टर चढेर आएपनि राहात भने नआएको गुनासो गरे ।
‘यसअघि ०७८ सालमा गएको बेमौसमी वर्षाका कारण ठूलो क्षति भएको थियो । एकै घरका ७ जनाले ज्यान गुमाए भने धनजनको क्षति भयो । त्यतिबेलाका प्रधानमन्त्री, गृहमन्त्री र मुख्यमन्त्रीले भ्रमण गरेर आश्वासन दिए पनि तीन वर्षसम्म पीडित राहत पाउन सकेका छैनन्’, सांसद जोशीले भने, ‘नेताहरू आउँछन्, हेलिकप्टरमा घुम्छन् र आश्वासनका ठूला भारी बोकाउँछन् । तर जनताले केही पाउँदैनन् । यस्तो पीडाको अवस्थामा म सरकारलाई कमसेकम त्यो जिल्लाको समग्र अवस्था हेरेर अहिले विशेष कार्यक्रम घोषणा गर्न माग गर्दछु ।’
‘सरकारी कार्यालय, स्वास्थ्य चौकी र विद्यालय भवनसँग निजी घर बस्न लायक छैनन्’, उनले भने, ‘सामान्य राहतले मात्रै नपुग्ने हुँदा विशेष पूनर्निमाणको योजना लिएर बझाङ र त्यस वरपरका जिल्लालाई भूकम्प प्रभावित वा संकटग्रस्त जिल्लाका रूपमा घोषणा गरेर सरकारले विशेष कार्यक्रम ल्याउन अनुरोध गर्न चाहन्छु ।’