काठमाडौं, १८ असोज । फिफ्थ फोरम अफ मिनिस्टर्स एण्ड इनभाइरोमेन्ट अथोरिटिज अफ एशिया प्यासिफिक (फिफ्थ एपी फोरम) मा भाग लिनको लागि श्रीलंकामा रहेका वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो विभिन्न देशका समकक्षीहरुसँगको भेटवार्तामा व्यस्त छन् ।
गत अक्टोबर ३ देखि सुरू हुने उक्त फोरममा भाग लिन मन्त्री महतो गत सोमबार त्यसतर्फ प्रस्थान् गरेका थिए । मन्त्री महतोलाई नेपालका लागि श्रीलंकाकी राजदूत निलुसा डिल्मिनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेकी थिईन् । सो क्रममा मन्त्रालयका उच्चपदस्थ कर्मचारी र विभिन्न विभागका प्रमुखहरुपनि मन्त्री महतोलाई विदाई गर्न विमानस्थल पुगेका थिए ।
उक्त कार्यक्रम आगामी अक्टोबर ६ तारिखसम्म चल्नेछ । कार्यक्रम श्रीलंका सरकार र संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रम (युएनईपी) ले संयुक्त रुपमा आयोजना गरेको हो । मन्त्रीस्तरीय कार्यक्रम आज (बिहीबार) अक्टोबर ५ बाट सुरु भएको छ ।
कार्यक्रममा सहभागी विभिन्न देशका मन्त्रीहरुको सामूहिक तथा छुट्टाछुट्टै भेटवार्ता पनि सम्पन्न भएको छ । मन्त्री महतोले आज दक्षिण कोरियाका समकक्षीसँग भेटवार्ता गरेको मन्त्री महतोका सचिवालय सदस्य रुकेश साहले जानकारी दिए ।