Logo

रास्वपाप्रति ओलीको टिप्पणीः ‘नयाँ विचराहरु पानीमा हात चोबल्दै छन्, पौडिन त बाँकी नै छ’



काठमाडौं, १८ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नयाँ भनिने दलहरु यतिबेला खोलाको किनारमा बसेर पानीमा हात चोबलिरहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ दल खोलामा पस्न र पौडिन बाँकी नै रहेको बताए ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दैै उनले भने, ‘अहिले केही नयाँ भनेर निस्केको पनि देखिन्छ । त्यो नयाँ विचराहरु खोलाको किनारमा यसो बसेर पानीमा हात चोबल्दैछन् । खोलामा पसेकै छैनन् । पौडी खेल्न त बाँकी नै छ ।’

नयाँ भनिने दलहरुले भर्खर राजनीति सिक्न खोजिरहेको बताउँदै ओलीले अहिले नै उनीहरुले देश हाक्ने कुरा असम्भव रहेको बताए । नयाँ दलहरुसँग कुनै विचार र सोच नरहेको उनको टिप्पणी छ । नयाँ दललाई कस्तो मान्छे उम्मेदवार बनाउने भन्ने ज्ञानसमेत नरहेको उनको भनाई छ ।

‘जो ड्राइभरको सिटमा एक पटक बसेको छैन, उसले ड्राइभिङ गर्न सक्ला ? उनीहरु भर्खर सिक्न खोज्दैछन् । उनीहरुबाट अहिले देश हाकिने भन्ने छैन । उनीहरुसँग कुनै सोच छैन, विचार छैन,’– ओलीले भने ।

जनताको जीवनमा परिवर्तन ल्याउने, गरिबी निवारण गर्न सक्ने, सामाजिक न्याय कायम राख्न सक्ने पार्टी एमालेमात्रै भएको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्