Logo

यातायात व्यवसायीलाई प्रश्न– दसैंमा गाडी भाडा बढ्छ कि बढ्दैन ?



काठमाडौं, १९ असोज । नेपाल राष्ट्रिय स्वतन्त्र यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले दसैंको अग्रीम टिकट खुलाउनुअघि सडक मर्मतसम्भारको ग्यारेन्टी हुनुपर्ने औंल्याएका छन् ।
‘देशभरि सडकहरु खराब छन् । मुग्लिनबाट पोखरासम्मको ८० किमि बाटो, नारायणगढबाट बुटवलसम्मको ११४ किमि बाटो, कोसी ब्यारेज, ढल्केवर आसपास, बीपी राजमार्गको भकुन्डेबेसीदेखिका बाटो ग्रामीण सडकभन्दा पनि कच्ची छन् । सिटमा बसेका यात्रुको खुट्टा भाँचिने अवस्था छ । हामीले १२ दिनमा १०-१२ लाख मानिस उपयत्काबाहिर पठाउनुपर्छ । यस्तो अवस्थामा यात्रुलाई कसरी सुरक्षित रुपमा गाउँ-गाउँमा पुर् याउन सकिन्छ ? अग्रीम टिकट दिनुभन्दा ठूलो कुरा सरकारले सडक मर्मतसम्भारको प्रत्याभूति दिने कि नदिने ?’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सिटौलाले पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सडक मर्मत सुधार गर भन्दा पैसा छैन भनेको पनि बताए । उनले भने, ‘हिजो मेरो नेतृत्वमा मन्त्री प्रकाश ज्वालासँग बाटोको सहजीकरणका लागि कुराकानी गरेका थियौं । उहाँले विकास समितिको बैठकमै पैसा छैन भनिदिनुभयो । माननीय सांसदहरुले हाम्रा कुरा पनि सुन्नुपर्छ । दुर्घटना के कारण भयो र समयमा गाडी किन पुग्दैन भन्ने कुरा सोचेर सरकारलाई निर्देशन दिनुपर्छ ।’
भाडाको विषयमा यातायात व्यवसायीविरुद्ध अनर्गल प्रचार भइरहेको आरोप पनि सिटौलाले लगाए । उनले भने, ‘यातायात व्यवसायीले अत्यन्त संकटको घडीमा पनि निरन्तर सेवा दिएका छन् । पेटोलियम पदार्थको मूल्य घटबढ हुँदा स्वचालित रुपमा भाडा बढ्ने-घट्ने कुरा छ । तर चैत मसान्तमा भाडा समायोजन गर्ने कुरा अहिलेसम्म हुन सकेको छैन । यातायात व्यवसायीलाई ठूलो अन्याय भएको छ ।’
दसैंमा गाडी भाडा बढ्छ कि बढ्दैन भन्ने पत्रकार धमलाको प्रश्नमा सिटौलाले भने, ‘भाडाको विषयमा छलफल चल्दै छ । दसैंमा गाडी एकतर्फी मात्र जान्छन् । फर्किंदा रित्तै हुन्छ । तैपनि यातायात व्यवसायीले पैसा कमाउँछन् भन्ने अनर्गल प्रचारबाजी भएको छ । १० खर्ब लगानीको यातायात व्यवसायलाई बचाउनु राज्यको दायित्व हो । सरकारले यसको संवेदनशीलता बुझिदिनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्