Logo

शवपरीक्षण सेवाले पीडितलाई राहत



महोत्तरी, १९ असोज । बर्दिबास-२ स्थित बर्दिबास अस्पतालमा शवपरीक्षण सुविधा सुरु भएपछि स्थानीयलाई सजिलो भएको छ ।

“पोष्टमार्टम सामान्यतया अप्ठ्यारो परिस्थितिबीच नै हुने हो, यसअघि जलेश्वर अस्पताल वा प्रादेशिक अस्पताल जनकपुरमा उपलब्ध यो सेवा अबदेखि यहाँ पनि सुरुभएको छ”, बर्दिबास–१० खयरमाराका प्रेमध्वज लामाले भने ।

उनका अनुसार यो सेवाले बर्दिबाससहित औरही, भङ्गाहा, गौशाला र रामगोपालपुर नगरपालिका तथा सोनमा गाउँपालिकाबासी लाभान्वित हुनेछन् । साथै सर्लाहीका ईश्वरपुर, लालबन्दी, चन्द्रनगर र धनुषाको मिथिलासहितका स्थानीयका लागि पनि बर्दिबास अस्पतालमा थपिएको यो सेवाले राहत मिल्ने स्थानीयको भनाइ छ ।

“एक त आफन्तको असहज मृत्युले परिवारजन विह्वल रहन्छन्, यस्तो बेला पोष्टमार्टमका लागि टाढा जानपर्ने अवस्था खर्चिलो र झन्झटिलो हुँदै आएको थियो”, भङ्गाहा–४ का वडाअध्यक्ष गणेशप्रसाद महतोले भने, “बर्दिबास अस्पतालले थालेको यो सेवा प्रशंसनीय छ ।”

भर्खरै शवपरीक्षण सेवा थालेको बर्दिबास अस्पतालले अब चाँडै यसअघि रोकिएको प्रसूति र शल्यक्रिया सेवा पनि सञ्चालन गरिने जनाएको छ । गत भदौअघिसम्म सञ्चालनमा रहेको प्रसूति सेवा सञ्चालनको तयारी गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णा महर्जनको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot