काठमाडौं,१९ असोज । गत जेठ ७ गते आफ्नै घरमा मृत फेला परेकी जनकपुरकी आरती साहको हत्यामा संलग्न भएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मोतिबावु साह र मदनमोहन साह साधारण तारेखमा छ्टेका छन् ।
बिहीबार उच्च अदालत जनकपुरले आरतीको परिवारले दिएको जाहेरीमा प्रमान नपुगेको भन्दै साधरण तारेखमा छाड्न आदेश दिएको हो । उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश सारङ्गा सुवेदी र न्यायाधीश किरण पोखरेलको संयुक्त इजलासले साधरण तारेखमा छाड्न आदेश दिएको हो ।
जेठ ७ गते जनकपुर उपमहानगरपालिका-८ स्थित श्रीमानको घरमा आरती मृत फेला परेकी थिइन्। घटनापछि माइतीपक्षले उनका श्रीमान र ससुराविरूद्ध आत्महत्या दुरूत्साहनको जाहेरी दिएका थिए।
जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले मोतिबाबु र मदनमोहनलाई पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको थियो।
जाहेरीपछि आरतीका श्रीमान र ससुरालाई नियन्त्रणमा लिएर धनुषा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।
आफ्नो छोरीको हत्या भएको भन्दै आरतीको माईतीपक्ष भने निरन्तर काठमाडौंमा सडक संघर्ष गरिरहेका छन् । उनीहरुले हत्यारालाई कारबाही नभए माईतीघर मण्डलामा आत्मदाह गर्ने चेतावनीसमेत दिएका छन् ।