Logo

‘नारायणगढ–बुटवल सडक खण्ड निर्माणमा अझै डेढ वर्ष लाग्ने अवस्था छ’



काठमाडौं, २१ असोज । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डका जनताले चार वर्षदेखि धुवाँ–धुलो खाइरहेका छन् । त्यस खण्डमा यात्रुले भोग्नुपर्ने सकस त छँदै छ । १८० किलोमिटर सडक पार गर्न ६–७ घन्टासम्म लाग्छ । स्थानीयले काम चाँडै सक्न निरन्तर दबाब दिए पनि एसियाली विकास बैंक (एडीबी) का कन्सल्ट्यान्ट र ठेकेदार कम्पनीलाई कम्तीमा डेढ वर्ष लाग्ने बताएका छन् ।
‘हामी ठेकेदार कम्पनीकहाँ साताको दुई दिन जाने गरेका छौं । चारपाँच महिना पहिले एडीबीका ठेकदार र कन्सलट्यान्टले मेटिरियल भएन भनेपछि नगरपालिकाका तर्फबाट ६२ हजार घनमिटर गिटी बालुवा उपलब्ध गरायौं । केही समय कामले गति पनि लियो । तर अहिले काम फेरि सुस्त भएको छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘पालिका बहस’का लागि पत्रकार ऋषि धमलासँग गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले भने ।
ठेकेदार कम्पनीका पहिले इन्जियिनर राकेश झाले अझै डेढ वर्ष धुवाँ–धुलो खानुपर्ने स्थिति रहेको बताएको उनले सुनाए । अधिकारीले भने, ‘यो सडक हाम्रो हातको कुरा छैन । केही काम हामी आफैं गर्छौं भन्दा पनि तपाईंहरुले बनाउन पाउनुहुन्न भन्नुहुन्छ ।’ राजमार्गको जे जस्तो अवस्था भए पनि नगरपालिकाका भित्री सडक कालोपत्रे, चक्रपथ निर्माण र खानेपानीका काम भइरहेको अधिकारीले बताए ।



प्रतिक्रिया दिनुहोस्