काठमाडौं, २१ असोज । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले गठबन्धन सरकारको नेतृत्व बदल्नुपर्ने नेताहरुको विचार निजी धारणा भएको बताएका छन् ।
‘पार्टीका नेताहरुले केही कुरा उठाएका छन् । मैले पनि सुनिरहेको छु । उहाँ (डा. शेखर कोइराला) को व्यक्तिगत कुरा हो । पार्टीको आधिकारिक निर्णय होइन । केन्द्रीय समितिको निर्णय पनि त्यही हो । अहिलेको गठबन्धन कांग्रेसले नै बनाएको हो । सरकारले राम्रो काम गर्ने प्रयास गर्दैछ, केहीर कमीकमजोरी छन् भने आपसी छलफलमा टुंग्याउनुपर्छ । तर कांग्रेसले सरकार बाहिर जाने सोचेको छैन,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता ढुंगानाले कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी रहने बताए । उनले थपे, ‘प्रदेश सभामा कुनै दलको बहुमत छैन । तर अब संविधानको धारा १६८ (५) अन्तर्गत बन्ने सरकारले स्थिरता दिन्छ । त्यसका लागि कसैले पनि मेरो गोरुको बाह्रै टक्का भनेर हुँदैन । सभामा नेपाली कांग्रेस नै ठूलो पार्टी हो । त्यसैले मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ ।’
उनले पार्टीको विधान अनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुने बताए । तर स्थिर सरकार दिने सन्दर्भमा कांग्रेसभित्रकै अन्य सांसद वा गठबन्धनभित्रका कुनै दलको नेतृत्वमा सरकार बन्ने
पनि ढुंगानाले औंल्याए ।
पार्टीको अनुशासन समितिका संयोजक समेत रहेका ढुंगाना कांग्रेसका १५ केन्द्रीय सदस्यबारे उजुरी परेको र आवश्यक परेको खण्डमा स्पष्टीकरण सोधिने बताए । उनले भने, ‘अहिले अनुशासन समितिमा ४० जिल्लाको उजुरी परेको छ । त्यसमा १५ केन्द्रीय सदस्यबारे पनि उजुरी परेको छ । यसलाई अनुशासन समितिले गम्भीरतापूर्वक हेरेको छ । अनुशासनको कारबाहीमा निम्ति स्पष्टीकरण त सोध्नु परिहाल्छ । तर कसैले उजुरी दियो भन्दैमा कारबाही भइहाल्दैन । कतिपय कुरा उजुरी नदिए पनि हामी हेर्छौं ।’