Logo

लाज पचाएर संघीयताको मूरली नबजाऔं: चित्रबहादुर केसी



काठमाडौं,२१ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताको औचित्य समाप्त भएको दाबी गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका केसीले संघीयताकै कारण मुलुक विखण्डनको बाटोमा अघि बढेको स्मरण गराउँदै संघीयता खारेज गर्नुपर्ने बताए । उनले प्रदेशलाई खारेज गरेर स्थानीय तहलाई स्वायक्त बनाउनसमेत माग गरे ।

‘एउटा प्रदेशको ६ वर्षसम्म न्वारान हुन्न । कोशी प्रदेशको ६ वर्षको बल्ल न्वारान हुन्छ । न्वारानमा बाहुनहरुले नाम किटान गरिसकेको पछि त्यो नाम भएन भन्दै फेरि उत्पात मच्चिन्छ । कतिपटक त्यहाँ सरकार बने कतिवटा मुख्यमन्त्री परिवर्तन भए । यो जात्रा सुन्न र देख्न नेपाली जनताले परिरहेको छ’ सांसद केसीले भने ‘ तैपनि संघीयताको मूरली माननीय ज्यूहरुले बजाइरहनु भएको छ । त्यसकारण संघीयताले गरेर खाएन अब । लाज नमानिकन प्रजातान्त्रिक विकेन्द्रीकरण गरौं । नगरपालिका र गाउँपालिकालाई अधिकार दिउँ । नेपाल एकात्मक प्रणालीको विकल्प संघात्म प्रणाली हुन सक्दैन । नेपाली जनताले महसुस गरिसके’ । केसीले भने

उनले इजरायलमा भएको हमास समूह र प्यालेस्टाइन नागरिकबीच भएको युद्ध पुरानै घटना भएको बताएका छन् । उनले नेपालमा रहेका बावु आमालाई छोडेर इजरायलमा रहेका त्यहाँका वृद्धवृद्धालाई स्याहार गर्न पुगेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् ।

त्यस्तै उनले बझाङमा गएको भूकम्पबाट घरबार गुमाएका नागरिकलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।



प्रतिक्रिया दिनुहोस्