Logo

इजरायल घटनाबारे राप्रपाले गरायो सभामुखलाई ध्यानाकर्षण



काठमाडौं,२२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार इजरायलमा बिद्रोही समूह हमासले गरेको आक्रमणप्रति दुःख व्यक्त गरेको छ । उक्त आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएकोप्रति मर्माहत भएको जनाएको छ ।

राप्रपाले आज एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा परेर घाइते भएका र आक्रमणबाट बच्न बंकरमा लुकेर बसेका नेपालीको तत्काल उद्धार गर्न मागसमेत गरेको छ । साथै राप्रपाले आज बस्ने प्रतिनिधि सभाको बैठकमा उक्त घटनाबारे छलफल चलाउन सभामुखसमक्ष आग्रहसमेत गरेको छ ।

राप्रपा प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा गएको एक टोलीले सभामुख देवराज घिमिरेलाई भेटगर्दै आजका लागि निर्धारण गरिएको सबै कार्यसूची हटाएर इजरायल घटनाबारे छलफल चलाउन माग गरेका छन् । इजरालयमा अलपत्र नेपालीहरुको उद्दारका लागि सरकारले विशेष टिम बनाउनुपर्ने र त्यसको लागि प्रतिनिधि सभाले निर्देशन दिनुपर्ने उनले बताए । इजरायलमा मात्रै नभइ अन्य विभिन्न देशहरुमा पनि अलपत्र रहेका नेपालीहरुको उद्दार गर्नुपर्नेमा उनले जोड दिए ।

इजरायलमा शनिबार बिहानबाट जारी रहेको हमास समूहको आक्रमणमा परेर हालसम्म १० जना नेपालीसहित सयौं नागरिकको मृत्यु भएको विदेशी सञ्चार माध्ययमले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्