काठमाडौँ, २२ असोज । पूर्व–पश्चिम जोड्ने देशको चौँथो राजमार्गका रूपमा मदन भण्डारी राजमार्ग आयोजनाअन्तर्गत एक सय आठ पुल निर्माण गरिएको छ । जम्मा एक सय ८५ पुल निर्माण गर्नुपर्नेमा आधाभन्दा धेरै पुल निर्माण भएर सञ्चालनमा आएको उक्त आयोजनाको निर्देशनालयले जनाएको छ ।
हाल निर्माणको क्रममा ४५ पुल रहेको निर्देशनालयका सूचना अधिकारी (इञ्जिनीयर) शिव तिमल्सिनाले जानकारी दिए। डिजाइन भएर ठेक्कामा जान बाँकी छैन । उनले भने, “आयोजनाका सबै पुल डिजाइन बिल्डबाट निर्माण भइरहेको छ । डिजाइन भएका पुल सबै निर्माण भैसकेका छन् ।” उक्त आयोजनाले निर्माण गर्न बाँकीमा एउटा ठूलो पुल कणार्लीमा रहेको छ । अधिकांश भने साना पुल रहेका थिए ।
आयोजनाको हालसम्मको प्रगतिमा पुल निर्माणको प्रगति सडकभन्दा बढि छ । समष्टिगत प्रगति ४५ प्रतिशत रहेकामा पुल निर्माणको प्रगति ५८ प्रतिशत छ ।
वार्षिक बजेट विनियोजन न्यून भएको र सडकसँगै पुल निर्माणका लागि समस्याका रुपमा रहेको सूचना अधिकारी तिमल्सिनाले बताए । हरेकवर्ष सुरुमा विनियोजनभन्दा दोब्बर–तेब्बर खर्च भइरहेको उहाँको भनाइ थियो । सूचना अधिकारी तिमल्सिनाले भने, “खर्च बढी भइरहे पनि सुरु विनियोजन बढ्न सकेको छैन ।” टेण्डर आह्वान गर्न पनि सुरुमा अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितताका लागि सहमति लिनुपर्ने उनले बताए ।
त्यसैले जतिजति सुनिश्चितता भयो त्यतित्यति काम भइरहेको छ । बाँकी पुल निर्माणका लागि पनि यसै वर्ष नै टेण्डर आह्वान हुने स्थिति नदेखिएको योजनाले जनाएको छ । बजेट विनियोजन कम हुनु र थप बजेटका लागि पनि अहिले देशको आर्थिक अवस्थाका कारण ढुक्क हुने अवस्था देखिँदैन ।
गत आवमा दस पुल निर्माण गर्ने लक्ष्य लिइएकामा १४ पुल पूरा भएको थियो । दमकस्थित योजना कार्यालयले छ, हेटौँडास्थित कार्यालयले पाँच र गाईघाटस्थित कार्यालयले तीन पुल निर्माण गरेका थिए । रासस