Logo

एमाले सुदूरपश्चिम अधिवेशनमा पार्टी अध्यक्ष र महासचिवको कुनै उम्मेदवार छैन : कर्ण थापा



काठमाडौं, २३ असोज । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री कर्णबहादुर थापाले पार्टीको सदूरपश्चिम प्रदेश अधिवेशनमा गुटगत गतिविधि नभएको दाबी गरेका छन् ।
‘प्रदेश अधिवेशनमा निर्वाचनको प्रक्रिया आज सुरु हुन्छ । सर्वसम्मति नभए निर्वाचन अनिवार्य हुने नै भयो । तर यहाँ अरु प्रदेशमा जस्तो केन्द्रबाट फलानो उम्मेदवार भन्ने अवस्था छैन । यहाँ पार्टी अध्यक्ष र महासचिवको कुनै उम्मेदवार छैन । उहाँहरुले कुनै पनि पक्षधरता नलिने भन्नुभएको छ । सुदूरपश्चिमका पार्टी प्रतिनिधिले विवेकको प्रयोग गर्नुहुन्छ, गुटगत गतिविधि हुँदैन,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग थापाले भने ।
आफूहरुले सर्वसम्मतिको प्रयास गरिरहेको पनि उनले बताए । थापाले थपे, ‘पार्टी सचिव लेखराज भट्ट, प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, अध्यक्ष दामोदर भण्डारी र मैले सहमतिको प्रयत्न गरेका छौं । सहमतिको प्रयास जारी छ । प्रतिस्पर्धा त स्थापित अभ्यास नै हो । यहाँ हाम्रो गुट छैन । योग्य, सक्षम र योगदान गरेको अनि सम्भावना हेरेर नेतृत्व छनोट हुन्छ ।’
प्रदेश अधिवेशनमा पार्टी नेता भीम रावललाई किन बोलाउनु भएन भन्ने पत्रकार धमलाको प्रश्नमा थापाले भने, ‘यसबारे त आयोजकलाई सोध्नुपर्छ । म आयोजक होइन । आयोजकले के ठान्यो, त्यो उसले जान्ने कुरा हो । कसैलाई नबोलाएको विषयमा मैले टिप्पणी गर्नुको केही पनि अर्थ छैन । आयोजक प्रदेश अध्यक्ष दामोदर भण्डारी हुन्छ । उहाँले किन बोलाउनुभएन ? ककसलाई बोलाउनुभयो ? म अतिथि भएकाले यो विषय मेरो अधिकार क्षेत्रभित्र परेन । यसमा टिप्पणी गर्नु उचित देख्दिनँ ।’
एमालेमा भीम रावललाई निषेध गर्न खोजिएको हो भन्ने अर्को प्रश्नमा उनले भने, ‘कसैलाई निषेध गर्ने मेरो मान्यता छैन । मेरो मात्र होइन, कसैको पनि त्यस्तो भावना छैन । यो प्राविधिक खालको विषय हो । तर यो विवाद वा बहसको विषय होइन । यो विषयमा म यसभन्दा बढी बोल्नु उपयुक्त ठान्दिनँ ।’
साथै उनले सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रमका लागि इजरायल गएका १० विद्यार्थीले अनाहकमा ज्यान गुमाउनुपरेकामा दुःख व्यक्त गर्दै उनले सरकारले पीडितलाई छिटोभन्दा छिटो उद्धार र राहत दिनुपर्ने धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot