काठमाडौं, असोज २३ । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका बझाङको जयपृथ्वी नगरपालिका–११ चैनपुरका गणेश नेपालीका बुबा धनलाललाई अझै पनि आफ्नो माइला छोरा मारिएको विश्वास छैन ।
‘अस्ति भुइँचालो गयो । घर चर्कियो । १०-१५ जनाको परिवार छ । बारीमा पाल हालेर बसेका छौं । यस्तो बेला माइलो छोरो छैन भन्ने खबर आयो । मलाई अझै पनि विश्वास छैन । अझै छ कि भन्ने लाग्या छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
६० वर्षीय नेपाली छोरालाई सम्झेर रेडियो अन्तर्वार्तामै भक्कानिए । उनले भने, ‘शुक्रबार राति ऊसँग कुरा भएको थियो । चर्किएको घरमा नबस्नुस्, चिन्ता नमान्नुस् भनेको थियो सर । त्यसरी मार्छन् भन्ने के थाहा र ! फेसबुकमा हालेका छन् । आफ्नै आँखाले युद्ध भएको देखियो । सिलाइकटाइ गरेर पढाएको छोरा हो । अब के गरूँ, कसरी चित्त बुझाऊँ ? बिना गल्ती जवान छोरो मारियो ।’
सुदूरपश्चिम विश्वविद्यालयको टीकापुर बहुमुखी क्याम्पसको कृषि संकायतर्फ स्नातक तह अन्तिम वर्षमा अध्ययनरत गणेश नेपालीसहित ४९ विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । गएको एक महिना नबित्दै १० जनाको इजरायलमाथि हमासले गरेको आक्रमणमा परी मृत्यु भएको हो ।