भाइसँग गत शुक्रबार राति सामान्य कुराकानी भएको थियो । त्यही नै अन्तिम रहेछ । बझाङ केन्द्रविन्दु भएर भूकम्प आएका कारण जयपृथ्वी नगरपालिका–११ चैनपुरस्थित हाम्रो घर कत्तिको चर्केको छ दाइ भनेको थियो । क्याम्पसमा फी तिर्ने कुरा पनि भएको थियो ।
म सामान्य सरकारी कर्मचारी हुँ । परिवारमा बुबा, आमा, दुई भाइ, म, श्रीमती र मेरा तीन जना नानीहरु छन् । परिवारको सम्पूर्ण भार ममा नै छ । भाइ बीएस्सीएजी पढेर सकियो, भविष्य कसरी बनाउने र दुई भाइ मिलेर कसरी अघि बढ्ने भन्ने चिन्ता उसमा थियो । दाइको भार कम गर्न पाए हुन्थ्यो भनिरहन्थ्यो । तर, इजरायल एक महिना नपुग्दै यस्तो दुःखद घटना भयो ।
बुबा ६० वर्षको हुनुहुन्छ, कान अलि कम सुन्नुहुन्छ । त्यसैले प्रायः पारिवारिक सल्लाह आमा र मसँग हुन्थ्यो । अब मैले आफ्नो खुट्टामा उभिने हैसियत बनाएको छु । चिन्ता नगर्नुहोला भनिरहन्थ्यो ।
सरकारसँग मेरो डाइरेक्ट कुरा भएको छैन । मैले बझाङमा आफ्नो परिवारलाई सम्हाल्नुपर्ने छ । मैले कुरा गर्ने भन्दा पनि आफन्तलाई कुरा राखिदिनू भनेको छु । अहिले नगरी नहुने भनेको र नागरिकको हक लाग्ने भने छिटोभन्दा छिटो भाइको शव ल्याउने प्रक्रिया सुरु होस् । अनुहार कुहिने वा नचिने हुनुभन्दा पहिले भाइको अनुहार हेर्न पाए हुन्थ्यो भन्ने छ ।
हिजो मन्त्रिपरिषद्को निर्णयमा शव घरमा ल्याइदिने कुरा छैन । हाम्रो पहिलो आशा सरकार नै हो । हाम्रो घरनजिकै सेनाको ब्यारेकमा हेलिप्याड छ । सरकारले चाँडो हेलिकप्टरमै शव ल्याइदियोस् । सरकारले गर्न सक्दैन भने पनि भाइलाई सम्मानपर्वक अन्तिम बिदाइ गर्न पाए हुन्थ्यो ।
इजरायलमा हमास आक्रमणमा परी मारिएका नेपाली विद्यार्थी गणेश नेपालीका दाजु विकाससँग नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीमा आधारित