काठमाडौं, असोज २३ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी लडाकु समूह हमासविरुद्ध सशक्त कार्बाही सुरु भएको बताएका छन् ।
हवाइ हमला जारी राखे बन्दीहरुको हत्या गर्ने हमास लडाकुको धम्कीपछि इजरायलले विशेष सैन्य कारबाही थालेको छ । बन्दी मुक्त गर्न सबै सुरक्षात्मक उपाय लगाउने प्रधानमन्त्री नेतान्याहूले बताएका छन् ।
हमास लडाकु समूहको आक्रमणमा परी इजरायलतर्फ ९ सय जनाको मृत्यु भएको छ । मृतकमध्ये केही विदेशी नागरिक पनि छन् । हमासको आक्रमणमा परी इजरायलमा ११ जना अमेरिकी नागरिकको मृत्यु भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
त्यस्तै इजरायली आक्रमणमा परी करिव ७ सय प्यालेस्टिनीको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लडाकुहरुले एकसय भन्दा बढीलाई बन्धक बनाएको पनि दावी गरेका छन् ।
इजरायलले यसअघि नै गाजा क्षेत्रलाई सम्पूर्णरुपमा नियन्त्रमा लिन सेनालाई निर्देशन दिइसकेको छ । हमास समूहले सुरु गरेको आक्रमणको प्रतिकारमा लगातार रकेट हमला गरिरहेको इजरायलले गाजा क्षेत्रमा खानेकुरा, पानी, इन्धन,विदयुत लगायत सबै सेवा बन्द गर्न पनि आदेश दिएको छ । एजेन्सी