Logo

हरिपूर्वा नगरपालिकामा ६ महिनाभित्र ६ प्रमुख प्रशासकीय अधिकृत सरुवा



काठमाडौं, २३ असोज । सर्लाहीको हरिपूर्वा नगरपालिकाका मेयर विनोदकुमार साहले खानेपानी मन्त्री महिन्द्र राय यादवको चलखेलका कारण आफ्नो पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको आरोप लगाएका छन् ।
‘मैले प्रमुख प्रशासकीय अधिकृत टिकाउन नसकेको होइन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नै कसैलाई एक घन्टा, कसैलाई २४ घन्टा, कसैलाई हप्तामा, कसैलाई बाटोमै सरुवा गरिदिएका छन् । मन्त्रालयले एउटा कर्मचारी पठाउँछ, अर्को मन्त्रीले अर्को मन्त्रीले चलखेल गर्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘पालिका बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
खानेपानी महिन्द्र राय यादव आफूलाई असफल बनाउन लागिरहेको आरोप पनि साहले लगाए । उनले थपे, ‘हाम्रो पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउने जिम्मा सामान्य प्रशासन मन्त्रीको हो । त्यसलाई महिन्द्र यादवले कसरी उल्टाउन सक्छन् ? डाक्टरले इलाज गर्नुपर्नेमा झाँक्रीकहाँ जाने ? महिन्द्र राय यादवले आफ्नो २५-३० वर्षदेखि सांसद हुँदा पनि हाम्रो पालिकामा कुनै विकास गर्नुभएको छैन । बरु नमुना पालिका बनाउने मेरो अठोटमा अवरोध गरिरहनुभएको छ । मैले लडाइँ गरेको होइन, पालिकाको प्रमुखले मन्त्रीसँग लडाइँ गर्ने हो र ?’
६ महिनामा ६ जना प्रशासकीय अधिकृत सरुवा गरेर पालिकाको काम गर्न नपाएपछि कार्यपालिकाका १० सदस्यसहित चाबी लिएर आफू सिंहदरबारमा धर्ना बसिरहेको पनि साहले बताए । उनले भने, ‘मन्त्री अनिता देवीलाई मैले हाम्रो पालिका यहीँबाट चलाइदिनुस् भनेको छु । कोही जान मान्दैन भन्नुहुन्छ मन्त्री । पालिकालाई बन्धक बनाउनु त भएन नि ।’
नगरपालिकामा चैतदेखि अहिलेसम्म ६ जना सरुवा भइसकेको छ । अहिलेसम्म वसन्त न्यौपाने, धु्रवराज आचार्य, शम्भुप्रसाद यादव, निमेष मिश्र, दिलीपकुमार यादव सरुवा भएका छन् । अहिले निमित्त पनि दिइएको छैन । मेयर साहले भने, ‘जनताले दुःख पाएका छन् । १५ शैय्याको अस्पताल चलाउन पाइएको छैन । कर्मचारी तलब खुवाउन समस्या छ । सामाजिक सुरक्षा भत्ता पनि बन्द छ । प्रशासनिक कागज पनि सकिएको छ । यसपालि नगरसभा पनि भएन । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गत वर्ष १४ करोड अनुदान फ्रिज भयो, अब १६ करोड फ्रिज हुनेवाला छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot