काठमाडौं,२३ असोज । नेकपा एमालेका सांसद रघुजी पन्तले आफ्नो भनाइलाई गलत अर्थ लाग्नेगरी काँटछाँट गरी भाइरल बनाइएको भन्दै आपत्ति जनाएका छन् ।
उनले इजरायलमा नेपाली मारिनुभन्दा पहिला फरक सन्दर्भमा दिएको प्रश्नको जवाफलाई तोडमोड गरी भाइरल बनाइएको भन्दै त्यस्ता भिडियोहरू हटाउन उनले आग्रह गरेका छन् ।
बेग्लै सन्दर्भमा बोलेका कुरालाई काँटछाँट गरी गलत अर्थ लाग्नेगरी भिडिओ बनाएर प्रचार गर्नु आपत्तिजनक भएको उल्लेख गर्दै नेता पन्तले टिकटक, युट्युब आदीमा भाइरल बनाइएका ती सामग्री तत्काल हटाउन माग पनि गरेका छन्।
पन्तले आज एक विज्ञप्ति जारी गर्दै उक्त भिडियोप्रति आफ्रनो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
यस्तो छ नेता पन्तले जारी गरेको वक्तव्यको पूर्णपाठ
इजरायलमा नेपाली विद्यार्थीहरु हमासको आक्रमणमा परी मारिएको समाचार आउनुभन्दा अघि बोलेका कतिपय बोलीलाई काँटछाँट गरी गलत अर्थ लाग्ने भिडिओ बनाएर टीकटक, युट्युब आदिमा राखी केही व्यक्तिले जनमानसमा भ्रम उत्पन्न गराएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
म उक्त घटनामा परी मारिनुभएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दछु र शोकसन्तप्त परिवारका सबै सदस्यहरूमा गहिरो समवेदना प्रकट गर्दछु।
बेग्लै प्रश्नको उत्तर दिँदा बोलेका कुराहरूलाई काँटछाँट गरी गलत अर्थ लाग्नेगरी भिडिओ बनाएर प्रचार गर्नु आपत्तिजनक कार्य भएकोले यस्ता भिडिओहरू तत्काल हटाउन माग गर्दछु। यस्तो काम गलत भएकोले यस्ता भिडिओ बनाएर प्रचार गर्ने कार्य रोक्न सम्बन्धित क्षेत्रले आवश्यक पाइला चालोस् भनी ध्यानाकर्षण गर्दछु।
सरकारले तदारुकताका साथ साथ इजरायलमा रहेका नेपालीहरूको तत्काल उद्धार गरोस् र मारिएका नेपालीहरूको परिवारलाई इजरायली सरकारबाट थप क्षतिपूर्ति उपलब्ध गराउन कूटनीतिक पहल थालोस्।
मेरो भनाइलाई काँटछाँट गरी त्यसरी गलत अर्थ लाग्ने भिडिओ बनाई प्रचार गर्ने कार्यबाट सम्बन्धित व्यक्तिको भावनामा चोट पर्न गएको भए त्यसप्रति गहिरो दुःख व्यक्त गर्दछु र कसैलाई पनि चोट पुयाउने मेरो आशय नभएको कुरा व्यक्त गर्दछु।
एक नेपालीले अर्को नेपालीको दुःखमा सहभागिता जनाएर पीडामा मलम लगाउनुपर्ने यस्तो संवेदनशील घडीमा व्यक्तिका भनाइहरूलाई बंग्याएर प्रस्तुत गरी स्थान बनाएर भ्युज बढाउन खोज्ने अमानवीय कार्य कसैले पनि गर्नु हुँदैन। त्यसैले त्यस्ता भिडिओहरू तत्काल हटाउन माग गर्दछु।
रघुजी पन्त, सदस्य प्रतिनिधि सभा