काठमाडौं,२३ असोज । नेपाली कांग्रेसले गत शनिबार इजरायलमा भएको आक्रमणमा परेर ज्यान गुमाएका नेपाली विद्यार्थीको शव तत्काल नेपाल ल्याउने वातावरण मिलाउन सरकारसँग माग गरेको छ ।
कांग्रेसको नयाँ बानेश्वरस्थित संसदीय दलको कार्यालयमा आज बसेको संसदीय दलको बैठकले इजरायलमा ज्यान गुमाएका १० जनाको पार्थिव शारीरलाई यथासिघ्र स्वदेश ल्याएर परिवारजनलाई बुझाउने व्यवस्था गर्न समेत आग्रह गरिएको एक सांसदले जानकारी दिए।
त्यस्तै बैठकले बिद्रोही समूह हमासको आक्रमणमा परेर परिवारको सम्पर्कमा नरहेका नेपालीको खोजी गरेर अवस्था सार्वजनिक गर्ने,नेपाल आउन चाहने नेपालीका लागि सुरक्षित तवरले स्वदेश फिर्ताको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराएको समेत ती नेताले बताए ।
बैठकले इजरायलमा हमास समूहको आक्रमणको निन्दा गर्दै मृत्यु हुने नेपाली युवाप्रति श्रद्धाञ्जलीका साथै शोक प्रस्ताव पारित गरेको मुख्य सचेतक रमेश लेखकले बताए ।
इजरायलमा रहेको प्यालेस्टाइनी बिद्रोही समूह हमासले गत शनिबार गरेको आक्रमणमा परेर हालसम्म २ हजारभन्दा धेरैले ज्यान गुमाएको बीबीसीले जनाएको छ । उक्त आक्रमणमा परेर नेपालका १० जना विद्यार्थीको निधन भएको छ ।