काठमाडौं,२३ असोज । नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । आज बिहान पार्टी सभापति शेरबहादुर देउवोको निवास धुम्बराहीमा बसेको पदाधिकारी तथा प्रभावशाली नेताहरुको बैठकले सत्तारुढ दलसँग समन्वय गरेर कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको एक नेताले जानकारी दिए ।
तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वास मत पाउने आधार नदेखेपछि गत शनिबार राजीनामा दिएसँगै प्रदेश प्रमुखले शुक्रबारसम्म संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारमा दाबी पेश गर्न आव्हान गरेका छन् ।
कांग्रेसबाट यसपटक मुख्यमन्त्री बन्न पूर्व मुख्यमन्त्री उद्धव थापासहित नेताहरु हिमाल कार्की,केदार कार्की, अमृत अर्याल र भूपेन्द्र राईले दाबी गर्दै आएका छन् । कोशी प्रदेशसभा हाल ९३ सदस्यीय छ । त्यसमध्ये बहुमतकालागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । तत्काल सरकार गठनकालागि आवश्यक पर्ने यो संख्या गठबन्धनसँग पहिल्यै छ । जसमा कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक सांसद छन् ।
तर विश्वासको मत प्राप्त गर्ने बेला फेरि संकट पर्ने भएपछि गठबन्धनले यसपटक राप्रपाको साथ खोजेको छ । प्रदेशसभामा राप्रपाका ६ सांसद छन् । राप्रपाले गठबन्धनलाई साथ दिए प्रदेशमा गठबन्धनलाई सरकार गठनको सहज बातावरण बन्नेछ । प्रदेश सभामा एमालेका ४० सांसद छन् । प्रदेश सभामा हाल सभामुख पद रिक्त छ । एमालेबाट निर्वाचित उपसभामुख सिर्जना दनुवारले नयाँ बन्ने मुख्यमन्त्रीले विश्वासको मत लिनेबेलामा प्रदेश सभा सञ्चालन गरिनन् भने पुनः प्रदेश सरकार ढल्ने जोखिम छ । त्यसैले सत्तारुढ दलले यसपटक प्रदेश सभामा निर्णायक देखिएको राप्रपालाई सामेल गराउने जमर्को गरेका छन् ।