काठमाडौं,२३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकारले विदेशमा राजदूत पठाउँदा पार्टीगत रुपमा चयन गर्दा कमजोरी बढेको बताएका छन्।
मंगलबार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसद खनालले राजदूत चयन गर्दा सरकारले गरेको कमजोरीकै कारण इजरायलमा भएको घटनामा नेपालीले यस्तो हविगत भोग्नुपरेको बताएका हुन् । उनले इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालको कार्यक्षमतामाथि समेत प्रश्न उठाएका छन् ।
सांसद खनालले सरकारले समयमै आवश्यक पहलकदमी नलिँदा जनतामा सरकार छ भन्ने आशा गुमेको बताए । क्राइसिसको बेलामा क्षमताका कुराहरु बढी प्रमुख रुपमा देखिने गरेको भन्दै उनले सम्भावित घटना भए कसरी अग्रसरता देखाउने भन्ने बारेमा सक्रियता बढी देखाउनुपर्ने बताए ।
उनले भने, ‘सम्भावित घटना भए कसरी अग्रसरता देखाउने भन्ने बारेमा सक्रियता बढी देखाउनुपर्छ। क्राइसिसको बेलामा क्षमताका कुराहरू बढी प्रमुख रुपमा देखिन्छ। राजदूतावास र राजदूतको क्षमतामा प्रशस्त प्रश्न उठेका छन्। पीडित विद्यार्थीले पनि राजदूतावासमा प्रश्न उठाउनुभएको छ। हामीले राजदूत छान्दा सधैँ हाम्रा मात्रै छान्ने हो की, संवेदनशील मुलुकमा कस्ता राजदूत पठाउने?’