Logo

एमाले सुदूरपश्चिमको नेतृत्व सर्वसम्मत छान्ने अन्तिम कसरतमा नेताहरु



काठमाडौं,२४ असोज । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न नेताहरु अन्तिम कसरतमा जुटेका छन् । आइतबार कैलालीको धनगडीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेर आज सक्ने तयारी भएको नेताहरुले बताएका छन् ।

सहमतिकै आधारमा नेतृत्व चयन गर्नकै लागि मंगलबारका लागि तोकिएको निर्वाचन कार्यक्रम आज दिउँसो २ बजेसम्म स्थगित भएको छ । सहमति खोज्नकै लागि निर्वातन प्रक्रिया लम्बाईएको नेताहरु बताउँछन् ।

अध्यक्षका लागि कमल तिमल्सिना, कृष्णप्रसाद जैशी, भरत साउद र बचनबहादुर सिंहले मनोनयन दर्ता गराएका छन् । भने अन्य विभिन्न पदमा गरि २३ जनाले मनोनयन दर्ता गराएका छन् । अध्यक्षका लागि ४ जनाले मनोनयन दर्ता गराएपछि सहमतिकै आधारमा नेतृत्व चयन गर्न भन्दै शीर्ष नेताहरुले सहमतिको खाका तयार पारेका छन् ।

शीर्ष नेताको सहमित र परामर्शमा तयार पारिएको खाका अनुसार अध्यक्षमा कृष्णप्रसाद जैसी, उपाध्यक्षमा कालिबहादुर शाही, सचिवमा रणबहादुर चन्द तथा उपसचिवद्धयमा नेपालु चौधरी र कलसा महरालाई सर्वसम्मत गराउने प्रयास भएको छ ।

उक्त नामहरु केन्द्रीय अध्यक्ष केपी शर्मा अ‍ोली, महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्ट, प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, नेताहरु दामोदर भण्डारी,कर्ण थापा र लालबहादुर थापासँगको सल्लाहमा तयार पारिएको हो । जैशीलाई अध्यक्ष बनाउँदा अर्का उम्मेदवार कमल तिमिल्सिनालाई केन्द्रीय सदस्य बनाउने पनि करिब टुङ्गो लागिसकेको छ । ती बाहेकका उम्मेदवार वचन बहादुर सिंह र भरत साउदलाई पनि पार्टी कमिटीले व्यवस्थापन गर्ने आश्वासन दिएको छ ।



प्रतिक्रिया दिनुहोस्