काठमाडौं,२४ असोज । गत वर्षको पुसमा फ्लाई दुबईबाट इलेक्टिक सिग्रेट (भेप)मा राखेर सुन तस्करी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका राहुल महराले इन्कारी बयान दिएका छन् ।
माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराका छोरासमेत रहेका राहुलले सीआइबीको रोहवरमा प्रहरी र सरकारी वकिलसमक्ष दिएको बयानमा उनले भन्सारले बरामद गरेको उक्त भेप आफ्नो चिनियाँ नागरिकको रहेको कारण के कसो भएको भनेर साथीको अनुरोधअनुसार भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठसँग सोधेको स्वीकार गरेका छन् भने उक्त प्रकरणमा आफ्रनो कुनैपनि संलग्नता भने नरहेको दाबी गरेका छन् ।
‘साथीको ईलेक्ट्रीक सिगरेट (भेप) त्रिभुवन बिमानस्थल एयरपोर्टमा रोकिएको छ, के भएको हो निकाल्न मिल्छ मिल्दैन बुझि दिनु पर्यो भनि मलाई अनुरोध गरेको कारण मैले प्रमुख भन्सार अधिकृत मुक्ति प्रसाद श्रेष्ठलाई फोन गरेको हुँ’ राहुलले आफ्नो बयानमा भनेका छन् । मैले ईलेक्ट्रीक सिगरेट (भेप) एयरपोर्टमा रोकिएछ, के भएर रोकिएको हो भनि मुक्ति प्रसाद श्रेष्ठलाई सोधपुछ गर्दा निजले उक्त ईलेक्ट्रीक सिगरेट (भेप) जफत भएको छ, भन्सार तिरेर पनि फिर्ता दिन मिल्दैन, यो लिलामी प्रकृयामा अगाडी बढ्छ भनि मलाई भनेका थिए’ । महराले भनेका छन् ।
करिब दूई हप्ता पछाडि भन्सारमा नै गएर बुझिदिनु पर्यो भनेकाले ‘के भएको रहेछ बुझौं न त’ भनेर विमानस्थल जाँदा भन्सार कार्याल्य अगाडि वाङ, उनका सवारी चालक लोकेन्द्र कुमार पौडेल र नचिनेको दूई चिनियाँ नागरिकसँग भेट भएको उनले बताएका छन् ।
त्यसपछि आफू, पौडेल र तिब्बतियन जस्तो देखिने नेपाली बोल्न जाने एक व्यक्ति समेत गरेर तीन जना विमानस्थलका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलको कार्यकक्षमा पुगेको उनले बताएका छन् ।
महराले बावु कृष्णबहादुरले अरुण पोखरेललाई फोन गरेको विषयमा अनविज्ञता प्रकट गरेका छन् । उनले भनेका छन् ‘मेरो बुबा कृष्ण बहादुर महराले अरुण पोखरेललाई फोन गरी मलाई सहयोग गरिदिनु भनेको सम्बन्धमा मलाइ थाहा छैन ’ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आज महरासहित, लोकेन्द्रकुमार पौडेल, बेल्जियम घर भई हाल काठमाडौं बस्ने दावा छिरिङ र काठमाडौंका निमा गुरुङलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गराएको छ । प्रतिवादी ४ मध्ये निमा फरार छन् ।
उनीहरूविरुद्ध अपराधिक विश्वासघात, भन्सार चौरी पैठारी तथा संगठित अपराधसम्बन्धी कसूरको मुद्दा लगाइएको हो । उनीहरूबाट ७३० थान भेपबाट ९ केजी ११ दशमलब ५२४ ग्राम परिमाणको सुन तस्करी गरिएको ठहरसहित ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।
यस्तो छ सरकारी वकिलको कार्यालयले दर्ता गराएको अभियोजनपत्र