Logo

मुख्यमन्त्री माग्न धुम्बाराही पुगेका पराजुलीलाई देउवाको जवाफ: जो संसदीय दलको नेता छ,उही हुन्छ



काठमाडौं,२४ असोज । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकारमा दाबी पेस गर्न दलहरुलाई दिएको समय सीमा शुक्रबार साँझ ५ बजे सकिँदैछ । गत शनिबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत पाउन नसक्ने देखेपछि पदबाट राजीनामा दिएसँगै प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको हो ।

सरकारमा दाबी पेस गर्न दिएको समस सीमा नजिँकैदै जाँदा भावि मुख्यमन्त्री बन्न नेताहरुले आ-आफ्नो लबिङ तीव्र पारिरहेका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार बन्ने भएको कारण बहुमत जुटाउन सक्ने जोसूकै सांसदपनि मुख्यमन्त्रमा दाबी पेस गर्न सक्ने व्यवस्था रहेको छ ।

सत्ता गठबन्धनमा भएको सहमति अनुसार कोशीको मुख्यमन्त्री नेपाली कांग्रेसले पाउनेछ । तर, यसपटक कांग्रेसभित्रै पनि मुख्यमन्त्री बन्न आधा दर्जन नेताले लबिङ गरेका छन् । प्रदेश संसदीय दलका नेता उद्धव थापाले यसअघिनै दुइपटक सरकारको नेतृत्व लिने अवसर पाएपनि सदूपयोग गर्न नसकेको भन्दै अन्य सांसदहरु थापाको विकल्प खोज्नुपर्नेमा छन् । कांग्रेसबाट पूर्व मुख्यमन्त्री थापासहित सांसदहरु भीम पराजुली, केदार कार्की, हिमाल कार्की र अमृत अर्यालले पार्टीसमक्ष आफ्नो दाबी पेस गरेका छन् । जसमा केदार पार्टी नेता शेअर कोइराला समूहका हुन् भने अन्य नेताहरु सभापति देउवा क्याम्पका हुन् ।

नयाँ सरकार बनाउन दिएको समय घर्किदै जान लागेको बेला प्रदेश सभा सदस्य तथा विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुली आफूलाई मुख्यमन्त्री बनाउन माग गर्दै सभापति देउवालाई भेट्न काठमाडौं आएका छन् । पराजुलीले आज देउवालाई भेटेर आफूलाई मुख्यमन्त्री बनाउन माग गरेको स्रोतले जनाएको छ ।

मुख्यमन्त्री माग्दै देउवा निवास पुगेका पराजुलीलाई देउवाले भने अहिलेको अवस्थामा संसदीय दलको नेतानै मुख्यमन्त्री हुने जवाफ दिएका छन् । पार्टीका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीलाई सभापति देउवाले अहिलेको परिस्थितिमा दलका नेता नै मुख्यमन्त्री हुने स्पष्ट पार्दै अर्को विकल्प आउँदा पार्टीभित्र सल्लाह गर्ने भनेर जवाफ फर्काएका हुन् ।

देउवासमक्ष पराजुलीले प्रशासन बुझेको छु, काम गरेको अनुभव छ, सरकार सञ्चालन गर्न सक्छु,। भोलि संसदीय दलको नेताको विकल्प आयो भने मलाई बनाउनुपर्यो भनेर कुरा राखेको स्रोतले जनाएको छ ।

कोशीमा नयाँ सरकरा बनाउन ४७ सांसदको समर्थन चाहिन्छ । हाल सत्तारुढ गठबन्धनसँग ४७ जनानै सांसद छन् । तर, प्रदेश सभाको सञ्चालन गर्ने जिम्मा पाएकी उपसभामुख एमालेबाट निर्वाचित भएको कारण नयाँ बन्ने मुख्यमन्त्रीले विश्वासको मत लिनेबेलामा पुनः भदौं ४ दोहोरिने खतरा हुँदा यसपटक दलहरु सचेत बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्