Logo

श्रीलंकाविरुद्ध रिजवानले बनाएको शतक प्यालेस्टाइनीलाई समर्पित



काठमाडौं,२४ असोज । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा श्रीलंकाविरुद्ध शतक प्रहार गरेका पाकिस्तानी ब्याटर मोहम्मद रिजवानले उक्त शतक गाजाका युद्धपीडित नागरिकप्रति समर्पण गरेका छन् ।

विश्वकपमा लगातार दोस्रो जित निकाल्ने क्रममा पाकिस्तानले मंगलबार श्रीलंकाविरुद्ध ६ विकेटको कीर्तिमानी जित निकालेको थियो । राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा श्रीलंकाले प्रस्तुत गरेको ३४५ रनको लक्ष्य पाकिस्तानले ४८।२ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो ।

पाकिस्तानको जितमा शतकीय इनिङ खेलेका रिजवानले अविजित १३० रन बनाएका थिए । जितपछिको ट्विटरमा एक पोस्ट गर्दै रिजवानले आफ्नो शतक गाजाका युद्धपीडितमा समर्पित गरेका हुन् ।

“यो गाजामा रहेको हाम्रा दाजुभाई र दिदीबहिनीको लागि हो । जितमा योगदान दिन पाउँदा खुसी छु । यो जितको श्रेय सम्पूर्ण टिमलाई जान्छ । विशेषगरी अब्दुल्लाह सफिक र हसन अलिलाई । उत्कृष्ट स्वागत र सहयोगका लागि हैदराबासीप्रति आभारी छु,” रिजवानले ट्विटरमा लेखेका छन् ।

श्रीलंकाविरुद्धको खेलमा रिजवानले १३० रन बनाएका थिए । रिजवान कट्टर धार्मिक प्रवृत्तिका छन् । उनी शतक बनाउँदा मैदानमै नमाज पढ्छन् ।



प्रतिक्रिया दिनुहोस्