काठमाडौं,२५ असोज । बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्म कैदको सजाय भोगिरहेका रिगल भनिने योगराज ढकाललाई आममाफी दिईएको भन्दै सर्वोच्चमा दायर रिटमा सुनुवाइ जारी छ ।
बिहीबार सर्वोच्चका प्रधानन्यायाधीशन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ भइरहेको हो।
चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर दायर गरेको रिटमा गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्मा कारण देखाउ आदेश जारी गर्दै आजका लागि पेशी तोकेका थिए।
न्यायाधीश शर्माले यस मुद्दालाई अग्राधिकारमा राखेर सुनुवाइ गर्न आदेश दिएका थिए। यस मुद्दामा इजलासले महान्यायाधीवक्ता आफैं उपस्थित भएर बहस गर्न आदेश दिएको थियो।
उक्त आदेशसँगै महान्यायाधीवक्ता दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मी र गोपाल रिजाल, सहन्यायाधीवक्ता सूर्यराज दाहाल लगायतले आज बहस गर्दैछन् ।
न्यायाधीश शर्माको इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका दिन माफी मिनाहासम्बन्धी गरेको निर्णयको सक्कलप्रति पनि असोज २४ गतेभित्रै झिकाउन आदेश दिएको थियो। रिगलविरूद्ध नेपाल सरकारको मुद्दामा सर्वोच्चले दिएको मुद्दा फिर्तासम्बन्धी आदेश र अरू सबै मुद्दाहरूको मिसिल पनि मगाएको थियो।
रिगल संविधान दिवसको दिन असोज ३ गते तुलसीपुर कारागारबाट छुटेका थिए। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले कैद मिनाहा गरेपछि उनी कैद मुक्त भएका थिए।
रिगलले २०७२ असार २८ गते नेपालगन्जमा चेतनको हत्या गरेका थिए। हत्या अभियोगमा जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा रिगललाई हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। तर, सरकारले संविधान दिवसको अवसरमा आममाफी दिएपछि चेतन पत्नी भारती आन्दोलनमा होमिएकी छन् । उनले रिगललाई पुनः जेलमा पठाउनसमेत माग गरेकी छन् ।