काठमाडौं,२५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लिपुलेक कालापानी क्षेत्रमा आएकोबारे सरकारसँग जवाफ माग गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले छिमिकी मुलुकको प्रधानमन्त्री आउँदा सरकारले किन औपचारिक कार्यक्रम नराखेको ? भन्दै प्रश्नसमेत गरे ।
उनले भने, ‘छिमेकी राष्ट्रका प्रधानमन्त्री हाम्रो भू-भागमा आउनुभएको रहेछ । छिमेकी राष्ट्रको प्रधानमन्त्री आउँदा न सरकारको कुनै स्वागत गरेको छ । न देशलाई जानकारी गराएको छ । यत्रो ठूलो भ्रमण । कुटी, गुन्जी चुच्चे नक्साभित्रै पर्छ । यसको आधिकारिकताका लागि हामीले त्यहाँ प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्दा हामीले थाहा पायौं हामी जान पाउँदैनौं भन्नुभयो । सरकार र परराष्ट्रमन्त्रीलाई सोध्न चाहन्छु छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमणबारे सरकारले सदन र जनतालाई जानकारी गराउनु पर्दैन ? छिमेकी राष्ट्रको सरकारप्रमुख हाम्रो भूमिका आउँदा सरकारले स्वागत गर्नुपर्दैन? त्यसको औपचारिकता हुँदैन । त्यसबारे सरकारले जानकारी गराउनुपर्यो ।’
भारतीय प्रधानमन्त्री मोदीले हालै नेपालको कालापानी क्षेत्र हुँदै कैलाश पर्वत र पार्वती सरोवर दर्शन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, उक्त दर्शनबारे नेपाल सरकार र त्यहाँको प्रशासनले भने कुनैपनि जानकारी नभएको बताएको छ ।
photo by mukunda kalikote reporters nepal